रोहितको शतकमा नेपालद्वारा ह्युस्टन हुरिकेन्सलाई २५१ रनको लक्ष्य

  • Image नेप्लेज
  • २२ जेठ २०७९, आइतवार
  • 1209 पटक हेरिएको
रोहितको शतकमा नेपालद्वारा ह्युस्टन हुरिकेन्सलाई २५१ रनको लक्ष्य

एनआरएनए एनसीसी कप अन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हुरिकेन्सलाई दुई सय ५१ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रनमा अलआउट भयो । नेपालका लागि आजको खेलमा कप्तानी गरेका रोहित पौडेलले शतक प्रहार गरे । उनले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । 

नेपालले सुरुवात भने राम्रो गर्न सकेन । मात्र चार रन हुँदा ओपनर कुशल भुर्तेल ब्यक्तिगत एक रनमा आउट भए । त्यसपछि सुनील धमला ब्यक्तिगत १३ रनमा आउट हुँदा नेपालले ३७ रनमा दोस्रो विकेट गुमायो । लगत्तै ३८ रन हुँदा नेपालले तेस्रो विकेट गुमायो । देब खनाल ब्यक्तिगत १९ रनमा पेभेलियन फर्किए । 

नेपालले दुई विकेट गुमाएपछि क्रिजमा आएका रोहितले दिपेन्द्रसिंह ऐरीसँग ६१ रनको साझेदारी गरेका थिए । त्यपछि उनले आरिफ शेखसँग शतकीय साझेदारी गरेका थिए । उनले पाँचौं विकेटका लागि आरिफसँग एक सय आठ रनको साझेदारी गरेका थिए । 

दिपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा नेपालको स्कोर ९८ रन थियो । त्यसपछि नेपालको स्कोर दुई सय ६ रन हुँदा पाँचौं विकेट झरेको थियो । रोहित शतक बनाएर आउट भए । त्यसपछि विनोद भण्डारी ब्यक्तिगत चार रनमा आउट भएपछि नेपालले दुई सय १९ रनमा ६ विकेट झरेको थियो ।

त्यसपछि आरिफ शेख ब्यक्तिगत ४१ रनमा आउट भएपनि नेपालले दुई सय २८ रनमा सातौं विकेट खेर फाल्यो । 

त्यसपछि सुसन भारी ब्यक्तिगत पाँच रनमा आउट हुँदा नेपालले दुई सय ३४ रनमा आठ विकेट गुमायो । नेपालको स्कोर दुई सय ३९ रन हुँदा करण केसी ब्यक्तिगत १२ रनमा आउट भए । 

बलिङमा मोहम्मद इलियासले पाँच विकेट लिए भने हरमित सिंहले दुई विकेट लिए । 

 

सम्बन्धित खबर