‘बाहिरभन्दा भित्रै मज्जा’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 540 पटक हेरिएको

सूर्य ध्वज तामाङ,

नेप्लेज । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलमा बिहिबार मलेसियालाई ६९ रनले पराजित गर्न सफल रह्यो ।

जितसँगै शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको नेपालले अब फाइनलमा नेदरल्याण्ड्ससँग उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।
बिहिबार नेपाल र मलेसियाबिचको खेलमा नेपाली टिमलाई दर्शकहरुबाट राम्रै हौसला प्राप्त भयो । फरक यति थियो कि बिहिबारको खेलमा दर्शकहरु मैदानभन्दा बाहिर थिए ।

नेपाल सरकारले कोरोनाको महामारी फेरी बढेकाले भिडभाड हुने स्थानलाई बन्द गर्न निर्देशन दिएपछि सोमबार नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिजमा मंगलबारदेखि मैदानमा दर्शकको प्रवेशलाई निषेध गरेको थियो ।

तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ नेपाली क्रिकेटप्रेमीलाई खेल हेर्नबाट भने कसैले रोक्न सकेन । मैदानमा प्रवेश नपाएका सयौँ समर्थकहरु बिहिबारको मलेसिया र नेपालबिचको खेल हेर्न टियु मैदान बाहिर जम्मा भएका थिए ।

मैदानबाहिर रहेका दर्शकहरुबाट नेपाली टिमलाई राम्रो हौसला प्राप्त भइरहेको थियो । कोरोनाको त्रासले भिडभाड नगर्न भनिए पनि मैदानबाहिरको दृष्य भने फरक थियो । केही समर्थकहरु माटोको ढिस्कोमाथि चढेर  खेल नियालिरहेका थिए भने केही दर्शक रुखको टुप्पबाट खेलको आनन्द लिइरहेका थिए ।

जोखिमको सम्भावनाका कारण दर्शकलाई प्रवेश नदिने भन्दा पनि मैदानमा घुइँचो लाग्नुको कारण सोध्दा अधिकांश दर्शकले यो नेपाली क्रिकेटप्रतिको प्रेम भएको धारणा राखे ।

मैदान प्रवेशमा रोक लगाउनुको साटो सिमीत टिकट बेचेर मैदानमा दर्शकलाई समाजिक दु्री पालना गरेर राख्न सकेको भए राम्रो हुने एक दर्शकले बताए ।

‘आखिर जे गरे पनि नेपालीले आफ्नो देशको खेल यहाँ आएर हेर्न छाड्ने हैनन्,बरु सिमित टिकट बेचेको भए हुने थियो,मैदानमा सामाजिक दुरी पालना गरेर भए पनि बस्थ्यौँ,अहिले त बाहिरबाट यसरि उभिएर हेर्न खासै मज्जा आएन’ क्रिकेट हेर्नका लागि अफिस छुट्टि लिएर टियू मैदान पुगेका एक दर्शकले भने ।

अर्का दर्शकले भने बाहिरबाट घाँटि तन्काएर हेर्दा खेल हेरेजस्तै नभएको तर कोरोनाको जोखिमका कारण दर्शकलाई मैदानमा प्रवेश नदिइनु राम्रै निर्णय हुनुका साथै दर्शकहरु आफु स्वयं यसबारे जिम्मेवार र सचेत हुनुपर्ने बताए ।

‘मैदान भित्रै भए पनि भिड त हुन्छ नै तर दर्शकहरु आफै पनि सचेत हुनु आवश्यक छ । मास्क लगाउने तथा भौतिक दुरी कायम गरेर पनि खेल हेर्न सकिन्छ’

खेलपछि सञ्चारकर्मीको जवाफ दिँदै नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले दर्शकहरुलाई मैदानबाहिर देख्दा नरमाइलो लागेको बताए ।

‘बाहिरभन्दा भित्रै सेफ होला जस्तो लाग्छ,त्यसरि हेर्नभन्दा आदिलाई मैदान भित्र आउन दिए पनि हुने,रुख चढेर गेम हेरिरहँदा नमज्जा लाग्छ तर दर्शकहरुले आफ्नो स्वास्थ्यको ख्याल गरोस भन्ने चहान्छु,यो हामीप्रतिको माया हो र मायाले गर्दा नै यहाँ आउनुभयो तर आफ्नो ख्याल राखेर सामाजिक दुरी पनि कायम गर्न सक्यौँ भने राम्रो हुन्छ’ कप्तान मल्लले समर्थकहरुको उपस्थितीबारे बोल्दै भने ।

कोरोनाको महामारी फेरी सुरु भएको छ र अवस्था बिग्रदै गएको छ यस्तो अवस्थामा सरकरले रंगशाला लगायतका स्थानमा भिडभाड नगर्न निर्देशन दिएको छ ।

नेपाली समर्थकको क्रिकेट प्रतिको प्रेम त प्रगाढ छ नै तर यस्तो अवस्थामा दर्शकहरु स्वयं सजग हुनु अत्ति नै आवश्यक छ । पक्कै पनि आफ्नो स्वास्थ्यभन्दा खेल ठुलो त हुँदै हैन । त्यसैले कोरोना महामारीलाई टाढै राख्नका लागि दर्शकहरु आफै जिम्मेवार र सचेत रहनु आवश्यक छ ।

शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको नेपालले अब त्रिकोणत्मक सिरिज उपाधिका लागि शनिबार नेदरल्याड्ससँग खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey