कुशल र आशिफले देखाएको बलियो संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 1132 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेटमा नेपालको बलिङ र फिल्डिङ राम्रो मानिदै आएपनि ब्याटिङको आलोचना बारम्बार हुने गरेको थियो । त्यसमा पनि नेपालको ओपनिङ जोडीमा धेरै आलोचना हुने गरेको थियो । नेपाली क्रिकेटमा धेरै ओपनिङ जोडीहरु बने । तर उनीहरुले छिटपुट बाहेक दमदार साझेदारी कमैमात्र गरे ।

तर यसपटक काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजमा कुशल भुर्तेल र आशिफ शेखको जोडीले नयाँ आशा देखाएका छन । दुई युवा खेलाडीले जुन किसिमको ब्याटिङ नेदरल्याण्ड्स र मलेसियाविरुद्ध गरे, त्यसले टी २० क्रिकेटमा नेपालका लागि भविष्यको ओपनिङ जोडी यहि हो भन्ने आभाष दिलाएका छन ।

नेदरल्याण्ड्सविरुद्ध कीर्तिमानी एक सय १६ रनको साझेदारी गरेको यी दुई खेलाडीले मलेसियाविरुद्ध पनि त्यहि किसिमको ब्याटिङ दोहोर्याए । मलेसियाविरुद्ध पनि उनीहरुले एक सय दुई रनको साझेदारी गर्दै लगातार दुई खेलमा शतकीय साझेदारी गर्ने पहिलो नेपाली ओपनर जोडी बन्यो ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा ७६ बलमा एक सय १६ रनको साझेदारी गर्दा कुशल भुर्तेलले ४६ बलमा पाँच चौका र पाँच छक्काको मद्दतले ६२ रन बनाए । यस्तै आशिफले पनि ३८ बलमा चार चौका र चार छक्काको मद्दतले ५४ रन बनाए ।

प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण सम्हालेपछि नेपाली टिमको ओपनरमा नयाँ परिक्षण गरेका थिए । जुन परिक्षण निकै सफल भएको छ । दुई युवा खेलाडीलाई पहिलो पटक टिमको ओपनरको जिम्मेवारी दिनु आफैमा पनि जुवा खेल्नु जस्तै हो । तर दुबै युवा खेलाडीले आफ्नो क्षमतालाई यसपटक देखाउने निकै भरपुर मौका पाए ।

नेदरल्याण्ड्सविरुद्ध कीर्तिमानी साझेदारी गर्दा मलेसियाविरुद्ध पनि त्यहि खेल दोहोर्याउलान की नाई भन्ने ठूलो कौतुहल थियो । तर एक सय १० रनमा सामान्य लक्ष्य पक्ष्याउने क्रममा कुशल र आशिफको जोडी फेरी पनि निकै परिपक्क अवस्थामा देखियो ।

एकै साथ एउटै रुम पार्टनर रहेका कुशल र आशिफ विचको समझदारी पिचमा ब्याटिङ गर्दा निकै प्रष्ट देखिन्थ्यो । उनीहरुविच रन आउट हुने अवस्थाको सिर्जन भएन भन्दापनि हुन्छ ।

एक इन्डमा कुशलले आक्रामक पारी खेल्दा अर्को इन्डमा आशिफले सनलाई सुरुवातमा सपोर्ट गर्ने गरेका थिए । आफ्नो राडारमा आएको बललाई आशिफले बाउन्ड्रि पठाउन भने छोडेनन् ।

कुशलको खेलका बारेमा आशिफलाई राम्रोसँग थाहा भएकाले पनि यी दुई खेलाडीविचको समझदारी लोभ लाग्दो नै देखियो । मलेसिया विरुद्धको खेलमा पनि कुशलले ४१ बलमा अविजित ६१ रन बनाए । जसमा उनले तीन चौका र पाँच छक्का प्रहार गरे । यता आशिफले २९ बलमा चार चौका र एक छक्काको मद्दतले ४२ रन बनाए ।

भलै उनी यो खेलमा अर्धशतकको नजिक पुगेर आउट हुन पुगे । तर उनले आफ्नो क्षमतालाई निकै राम्रोसँग सबैलाई देखाए । घरेलु क्रिकेटमा शतक बनाएर चर्चा कमाएका आशिफलाई यो पटक राष्ट्रिय टिममा पर्दा जे सोचेका थिए, त्यो उनले लगभग पुरा गरेका छन । यता कुशलको हकमा पनि त्यहि भएको छ । टी २० मा घरेलु मैदानमा डेब्यु गर्ने इच्छा पुरा गरेका कुशलले ड्रिम प्रदर्शन गर्न सफल भए ।

मलेसियाविरुद्ध यी दुई खेलाडी ६७ बलमा एक सय दुई रनको साझेदारी गरे । जसमा दुबैको ब्याटबाट सात चौका र ६ छक्का प्रहार भए ।
दुई खेलमा गरेको प्रदर्शनले उनी अब भविष्यको ओपनर जोडी पक्का हो भन्दा हतार होला, तर उनीहरुले आफ्नो पोटेन्सियलबाट अबको संभावित जोडी हामी नै हौ भन्ने प्रष्ट पारेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal