नेपालगञ्ज रंगशालाको पौडीपोखरी मर्मत शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१४
  • |
  • 362 पटक हेरिएको

राँझा, रासस– सञ्चालनमा नआउँदै जीर्ण बनेको नेपालगञ्ज पौडी पोखरीको मर्मत शुरुआत भएको छ । १९ करोडको लागतमा नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माण गरिएको सो पौडी पोखरीको नौ महिना अघि औपचारिक रुपमा उद्घाटन गरिएको थियो भने निर्माण अधुरै रहेका कारण सञ्चालनमा आउन सकेको थिएन ।

सञ्चालन नहुँदा जीर्णावस्थामा पुगेको पौडी पोखरीको ट्रेक, सीसा, र प्याराफिट प्लास्टर गर्ने कार्य अहिले भइरहेको मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्दले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीलाई कार्यालयले बारम्वार ताकेता गरेपश्चात मर्मत कार्य शुरु भएको हो । निर्माणको जिम्मा पाएको जोशी निर्माण सेवाले अहिले करिव ७ लाख खर्च गरेर मर्मत सम्भार कार्य शुरु गरेको छ ।

‘पौडी पोखरीको औपचारिक उद्घाटन भएपनि निर्माण कार्य पूर्ण नभएका कारण सञ्चालन आउन सकेन’,उनले भने, ‘कार्यालयका तर्फबाट तीन पटकसम्म पत्र काटेपछि निर्माण कम्पनी मर्मत सम्भार गर्न तयार भएको हो ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गत गत फागुन २२ गते पौडी पोखरीको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

यस लगत्तै मध्यपश्चिम खेलकुद विकास समितिले पौडी पोखरी सञ्चालनको लागि प्रयास गरे पनि प्राविधिक समस्या देखिएका कारण सञ्चालन हुन नसकेको कार्यालयका लेखा अधिकृत मिनबहादुर जिसीले जानकारी दिए । ‘सञ्चालन तयारी गर्दा गर्दै प्राविधिक समस्यासँगै कोरोना महामारीका कारण लकडाउन भयो त्यसपछि सञ्चालन हुनै सकेन’, उनले भने, ‘लामो समयसम्म सञ्चालन नहुँदा जीर्ण बनेको पौडी पोखरीको मर्मत सम्भार हुनासाथ सञ्चालन गर्ने तयारी भईरहेको छ ।’

वि.सं २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गरेका थिए । एक दशकपछि आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा आयोजना हुने भएपछि पौडी पोखरी निर्माणको काम अघि बढेको थियो ।

मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीले नेपालगञ्ज जस्तो गर्मी ठाउँमा पौडी पोखरी निर्माणले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने छ । पौडी पोखरीमा एक पटकमा तीन सय पचास जनाले पौडी खेल्न सक्ने क्षमता रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey