खेलकुद स‌ंरचना जताततै अस्तब्यस्त, बजेटमा चुहावट, बाँकी फ्रिज !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२६
  • |
  • 173 पटक हेरिएको

नेप्लेज, चैत २५ । चीन सरकारले ६२ वर्ष अघि निर्माण गरिदिएको एकमात्र पुरानो अन्तर्राष्ट्रिय स्तरको भनिएको दशरथ रंगशालाको अहिलेको अवस्थाले प्रस्ट पार्छ नेपाली खेलकुदको परिदृष्य । यही रंगशालामा दुई पटक दक्षिण एशियाली खेलकुद आयोजना भइसकेको छ भने नेपालले अर्को बर्ष तेस्रो पटक आयोजनाको तयारी सुरु गरिसकेको छ । र, फेरि पनि दशरथ रंगशालाको विकल्प छैन । त्यसैले यसको पुनर्निर्माण अनि सिंगारपटारको काम भइरहेको हो ।

भुकम्पले जीर्ण बनेपछि दशरथ रंगशालामा दर्शकले खचाखच भएर एउटा पनि खेल हुन सकेको छैन । मर्मत सुरु गरेको करीव ३ बर्षसम्म पनि रंगशाला पुनर्निर्माणको काम २० प्रतिशत पनि सकिएको छैन ।

केन्द्रमै खेलकुद पूर्वाधारको यो अवस्था छ भने प्रदेश र स्थानीय तहका संरचनाहरूको अवस्थाबारे आफैं नै अनुमान लगाउन सक्नुहुन्छ ।

पचहत्तरै जिल्लामा सरकारले खेल पूर्वाधार बनाउने भनेर तामझमका साथ काम सुरु गरेको १० वर्षभन्दा बढी भइसक्यो । तर अहिलेसम्म एउटा संरचनाको निर्माण सम्पन्न भएको छैन । ३९ जिल्लामा काम भइरहेको छ तर गति अत्यन्तै सुस्त छ । २४ जिल्लामा त काम नै भएको छैन भने बाँकी नौ जिल्ला त पूर्वाधार निर्माणका लागि ठाउँ नै छैन ।

पूर्वाञ्चलमा भएका सबै पूर्वाधार जीर्ण

झापाको लखनपुरमा २०६७ सालमा तत्कालिन रक्षा मन्त्री विद्यादेवी भण्डारीले शिलान्यास गरेको आदिवासी रंगशालाको निर्माण कार्य अलपत्र छ ।

रतुवामाई बृक्षारोपणको नाममा रहेको करीव ३० विघा जग्गामा आदिवासी रंगशाला निर्माणका लागि २ करोड ५० लाख रूपैयाँ निकासा भएको सरकारी तथ्याङ्क छ । तर मैदान सम्याउने बाहेक रंगशाला निर्माणको कुनै काम भएको छैन ।

पछि सोही ठाँउमा मदन भण्डारी रंगशालाको नाममा ४० लाख रूपैयाँ विनियोजन भएपछि रंगशाला निर्माणको काम अबरूद्ध बनेको हो ।

अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय रंगशाला निर्माण गर्ने भनेर मोरङको वैद्यनाथपुरमा २०५८ सालमा १५ बिघा जमिन खरिद गरिएको थियो ।

त्यसयता रंगशाला निर्माणको नाममा सो ठाउँमा साँढे ३ करोड रूपैयाँ भन्दा बढी खर्च भइसकेको छ भने करिब डेढ करोड रूपैयाँको काम भइरहेको छ । रंगशाला निर्माण शुरू भएको १६ बर्षपग्दा पनि कहिले रंगशाला निर्माण सम्पन्न हुन्छ भन्ने यकिन छैन् ।

व्यवस्थित योजनाका आधारमा रंगशाला निर्माण भएको देखिदैन । विभिन्न खेलका खेलमैदान निर्माणमै अबरोध पुग्ने किसिमले बिचबाट बाटो बनाउने काम समेत भएको छ । ठोस काम गर्ने भन्दा पनि रकम सिध्याउनका लागि काम गर्ने काम भइरहेको देखिन्छ ।

सुविधा सम्पन्न एकेडेमीको पर्खाइमा गौरीटार, ८ बर्षमा एउटा छात्रवासमात्र बन्यो

पाँचवर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ राष्ट्रिय खेलकुद परिषदले आठ वर्षअघि हेटौडामा निर्माण सुरु गरेको सरकारी गौरवको योजनामा राखिएको राष्ट्रिय खेलकुद प्रतिष्ठानको काम छेपारोको कथा जस्तो भएको छ ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री हुँदा बामदेव गौतमले यो प्रतिस्ठान फरक फरक मितिमा शिलन्यास गरे । यसको दुई पटक शिलन्यास गरियो तर काम भने लथालिङग अवस्थामा छ ।

२ अर्ब ५० करोडको लागतमा सुविधासम्पन्न एकेडेमी बनाउने बताइएपनि बजेट अभावका कारण काम भएको छैन । आठ वर्षमा ५ करोड मात्रै बजेट पाउँदा निर्माण कार्य कछुवा गतिमा अघि बढेको हो ।

कुनैपनि खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सजिलो होस भनेर सरकारको लगानीमा नै हेटौँडामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालिएको हो । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले २०६६ साल जेठ २८ गते प्रतिष्ठानको सिलन्यास गरेका थिए ।

सिलन्यास त गरियो त्यसपछि मुख्य निर्माणको काम भने रोकिँदै–सुरु हुँदै गर्दा ८ बर्ष वितिसक्यो तर अझै कहिले बन्छ त्यो यकिन छैन ।

२२ विगाह १९ कट्ठा क्षेत्रफलमा फुटबल रंगशाला, अभ्यास ग्राउण्ड, क्रिकेट मैदान, स्विमिङ पुल, पुरुष तथा महिला खेलाडीका लागि होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने योजनामा भएपनि काम भने कुनैपनि भएको छैन ।

हालसम्म ५ करोडको लागतमा व्वाइज होस्टल, कम्पाउण्ड वाल र गेट निर्माणको काम मात्र भएको छ । यसवर्ष कर्भड हल निर्माणका लागि राखेपले एक करोड बजेट छुट्याएको छ ।

पाँच बर्ष भित्र २ अर्ब ५० करोडको लागतमा निर्माण गर्ने भनिएको प्रतिष्ठानले बजेट अभावकै कारण आठ वर्षमा प्रतिष्ठान कै रुप लिन सकेको छैन ।

पुनः निर्माणको पर्खाईमा विरगञ्जको नारायणी रंगशाला

२०४० सालमा निर्माण भएको वीरगन्जको नारायणी रगशालामा धेरै पटक राष्ट्रिय प्रतियोगिता भए । तर पछिल्लो समय संरक्षण र विकासप्रति देखिएको लापरवाहीका कारण उक्त रंगशालाको अवस्था दिनदिनै टिठ लाग्दो हुँदै गएको छ ।
दशरथ रंगशालापछिको ठुलो रंगशाला भएपनि झण्डै १५ बर्ष देखि नारायणी रंगशालामा कुनै पनि खेलकुद आयोजना सकेको छैन ।

चारै तिर प्याराफिट सहितको फुटबल मैदान भएको नारायणी रंगशाला १६ बिगाहा क्षेत्रफलमा छ । आर्थिक वर्ष २०७३/७४ मा रंगशालाको स्तरोन्नति गर्न सरकारले रकम विनियोजन गरेको हल्ला सुनिए पनि कति रकम विनियोजन भयो भन्ने ज्ञान जिल्ला खेलकुद विकास समितिलाई समेत छैन् ।

बजेट बर्षेनी जाने, तर काम नहुने अवस्थामा चितवन

बजेटका हिसावले चितवनमा भौतिक पुर्वाधारका लागि हरेक बर्ष बजेट पर्दै आएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला समेत रहेको चितवनमा जति बजेट गएको छ त्यो अनुसारको काम भएको छैन ।
पुर्व पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको टिकौली चौरमा क्षेत्रिय रंगशाला बनाउने भनेर ८ वर्ष अघि तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे ।

शिलान्यासकै बेला २ वर्ष भित्र रंगशाला बनाएरै छाड्ने प्रतिबद्धता पनि गरे । तर शिलान्यास भएको ८ वर्ष बितिसक्दा निर्माण त परै जाओस, समन्वयको अभावमा ०६६–६७ र ०६७–६८ सालमा आएको २ करोड ५० लाख रकम समेत फ्रिज भयो ।

त्यस्तै पुर्वी चितवनको खैरहनीमा २०७१ मा रंगशाला निर्माण गर्ने भनेर सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गरेको चौरको अवस्था पनि उस्तै छ ।

२०७२ मा खाल्डाखुल्डी पुर्न २० लाख र ७३ सालमा डिपीआरका लागि १० खर्च गरियो । तर त्यसपछि बजेट नआउँदा न डिपिआरले काम गर्यो नत मैदानले नै स्वरुप लिन सक्यो । रत्ननगर नगरपालिकामा कर्भड हल निर्माण गर्न राखेपले

यो वर्ष १० लाख छुट्याएको छ । तर अहिलेसम्म काम सुरु नै भएको छैन ।

यस्तै पश्चिम चितवनको गुंजनगरमा १० बिघा क्षेत्रफलमा रंगशाला निर्माण गर्ने भनेर घोषणा गरियो । त्यसका लागि पछिल्ला दुई आर्थिक बर्षमा राखेपबाट १५ लाख, तत्कालिन जिविसबाट साढे १९ लाख, एनआरएनबाट ४ लाख ७२ हजार, यो वर्ष डिपीआरमा लागि राखेपबाट २० लाखको बजेट विनियोजन गरिएको छ । तर कामको अत्तोपत्तो छैन ।

त्यस्तै पुर्वी चितवनको सुरदेवी खेलमैदान निर्माणका लागि ७२ र ७३ सालमा गरि ८ लाख, वैरिया माविमा ५ लाख बजेट राखेपले छुटयाएको छ । तर अहिले सम्म पनि काम अगाडी बढन सकेको छैन् ।

टेण्डरको झन्झटमा अल्झिएको पोखरा रंगशाला

पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने भन्दै फुटबल मैदानको पुरानो प्यारापिट भत्काइएको छ । दक्षिण एसियाली खेलकुद आयोजनाका लागि बनाउन लागिएको रंगशाला टेण्डर प्रकृयामै अल्झिएको छ ।

४४ लाख रुपैयाँ खर्च गरी पोखरा रंगशालाको पुरानो प्यारापिट भत्काइएको छ । तर अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागी ६ महिना अगाढी आह्वान गरेको ग्लोबल टेण्डरमा राष्ट्रिय खेलकुद परिषदले चिनिया“, भारतीय र फ्रेञ्च गरी ६ वटा निर्माण कम्पनी छनोट गरेको थियो । ती मध्ये पाँच वटा कम्पनी अयोग्य भएपछि अब टेष्डरमा कसरी जाने भन्ने नै टुङगो लागेको छैन ।

एक अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशाला निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्ने कुरामै अल्झिएको छ । अब कहिले रंगशालाको टेण्डर हुनु, कहिले काम पुरा हुनु र खेलाडीले खेल्न पाउनु, यी सबै सरकारी काममा नै अड्कीएका छन ।

४ बर्षमा पनि सकिएन बहुद्देश्यीय कर्भडहल

२ वर्षमै सम्पन्न गर्ने भन्दै तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा काम सुरु गरिएको पोखराको बहुद्देश्यीय कर्भडहल अझै सकिएको छैन । कहिले ठेकेदारको लापरवाही त कहिले समयमा बजेट निकासा नुहुनाले कर्भडहलले आफनो मिति नगाइसक्यो ।

त्यसमा पनि कर्भडहलमा डिजाईन राम्रो भएन भनेर विरोध पनि गरियो । १६ करोड रुपैयाँ लागानीमा राखेपले बनाउन लागेको कभर्डहलको ८० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।
रुपन्देहीमा कामचलाउ पुर्वाधार

रुपन्देही फुटबल र क्रिकेटका लागि उर्वर जिल्ला मानिएपनि व्यवस्थित खेलमैदान भने अझै बन्न सकेका छैनन् । यो क्षेत्रमा नियमित खेल गतिविधि भएपनि अस्थायी मैदानमै काम चलाइएको छ ।

फिफाको सहयोगमा बुटवलमा फिफा टेक्नीकल सेन्टर छ । फिफा गोल प्रोजेक्ट अन्तरगत खेलाडी उत्पादन, अध्ययन, प्रशिक्षण र प्रतियोगिताहरु गर्ने योजना सहित झण्डै २ करोड लगानीमा देवीनगरमा सेन्टर स्थापना भएको हो । तीन बिगाहा जग्गामा फैलिएको रंगशालामा करिब ४ हजार दर्शक बसेर खेल हेर्न सक्ने क्षमता छ । २ तले भवनमा होस्टेल, खेलाडी रेस्ट रुम लगायत छन् । तर खेल मैदान भने आधुनिक र व्यवस्थीत छैन ।

भैरहवामा क्रिकेट मैदान छ । क्रिकेट खेलाडीको अभ्यासका लागि २०३७ मा निर्माण सुरु गरिएको क्रिकेट मैदानको काम अझैपनि सकिएको छैन । साढे ६ विगाह क्षेत्रफमा फैलिएको क्रिकेट स्टेडियमले पुर्णता पाएमा २५ हजार दर्शकले खेल हेर्न सक्छन् ।

अभ्यास र प्रतियोगिता आयोजनामा समस्या भएको खेलाडीको गुनासो बढेपछि ५ वर्ष यता अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने काम भैरहेको छ । यद्यपी काम निकै सुस्त छ ।

बुटवल १३ सालघारीमा भुपू सैनिक जवही खेल मैदान छ । यो मैदानलाई व्यवस्थीत गर्न यो वर्ष बुटवल उपमहानगरपालिकाले ५० लाख लगानी गरेको छ । फुटबल मैदानको छेउमा बास्केटबल र ब्याडमिन्टन कोर्ट समेत बनाइएको छ ।
रामनगरमा रहेको मानवज्ञान माविको परिसरमा मानविज्ञान खेलमैदान छ । मदनभण्डारी स्पोट्स क्लबको अगुवाइमा यो मैदानलाई बहुउद्धेश्य खेल मैदान बनाउन डिपिआर तयार गरि“दै छ । बार्षिक रुपमा झरना गोल्ड कप हुने रुपन्देहीको कुञ्जलापुरमा आफ्नै खेलमैदान छैन ।

छैटौ राष्ट्रिय खेलकुद पछि निर्माणमा अंकुश लागेको धनगढी रंगशाला

निर्माण सुरु भएको झण्डै ६ वर्ष पुग्दा पनि धनगढीमा रहेको क्षेत्रिय रंगशााला निर्माण कार्य अझै पुरा हुन सकेको छैन । २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका वेलादेखि सुरु भएको रंगशालालाई निर्माण कम्पनिले अहिले सम्म हस्तान्तरण गरेको छैन ।

रंगशाला निर्माणको ठेक्का देवा निर्माण सेवा कम्पनीले पाएको थियो । तर केही वर्षदेखि उक्त कम्पनीले विभिन्न वहाना वनाउ“दै काम गर्न छाडेपछि रंगशाला निर्माण कार्य समेत विचमै अलपत्र परेको छ ।

यो रंगशालाको प्याराफिट निर्माणका लागि २ पटक १–१ करोडका दरले रकम निकासा भएको थियो । तर रंगशाला निर्माणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेकाले फ्रिज हुन पुग्यो ।

करीव ८० लाख रुपैया“मा विचमा एक ब्लक प्याराफिट थपिएको छ भने छैटौमा बनेका अरु प्राय पुर्वाधार जीर्ण बन्दै गएका छन ।

पछिल्लो ५ बर्षमा पुर्वाधार निर्माणमा भएको खर्च

निर्माण कार्यले गति लिन नसक्नुको प्रमुख कारण बजेट खर्च गर्न नसक्ने सरकारी संयन्त्रको अक्षमता नै हो ।

बितेको पाँच बर्षमा मात्रै खेल पुर्वाधार निर्माणका लागि ३ अर्व १२ करोड विनियोजन भएकोमा २ अर्व ४२ करोड रुपैया मात्र खर्च हुन सकेको छ । बाँकी करिब ६० करोड रूपैयाँ त फ्रिज नै भइसक्यो ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey