‘कमब्याक’को तयारीमा सुवास खकुरेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 158 पटक हेरिएको

फागुन २७, काठमाडौं । अघिल्लो महिना नामिवियामा भएको डिभिजन टूमा उपविजेता बनेर एकदिवशीय विश्वकपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सोही प्रतियोगिताका लागि जिम्बावेमा छ ।

दुई महिनाको बीचमा दुई ठूला प्रतियोगिता खेल्दा नेपालको समस्या ब्याटिङमै रहेको कुरा भर्खरै क्रिकेट सिक्दै गरेकाहरुले पनि सजिलै बुझेका छन् । ब्याटिङ कमजोरी नेपालको परम्परागत समस्या हुँदै हो, त्यसमा पनि भरपर्दो ओपनरको अभाव सबैभन्दा धेरै अहिले नेपाली क्रिकेटले झेलेको छ ।

नेपाली क्रिकेटको स्वर्ण युग मानिने सन् २०११ देखि २०१५ को बीचमा नेपालले नियमित ओपनरको रुपमा सुवास खकुरेललाई पाएको थियो ।

२६–२७ वर्षको उमेर भनेको कुनैपनि खेलाडीले सबैभन्दा राम्रो प्रदर्शन गर्ने समय हो, त्यस बेलामा चाहीँ म टिमबाहिर हुन पुगेँ

अन्तर्राष्ट्रिय एकदिवशीय र ट्वान्टी ट्वान्टीमा सर्बाधिक ब्यक्तिगत रनको कीर्तिमानधारी खकुरेल डेढ वर्षभन्दा लामो समय मैदान बाहिरै रहेर नेपाली टोलीको खस्कँदो प्रदर्शन हेर्न बाध्य भए । लामो लगानीपछि तयार भएको एउटा खेलाडीले करिअरकै सबैभन्दा राम्रो खेल्ने उमेरमा चोटग्रस्त हुनु टिमका लागि दुर्भाग्य र स्वयम खेलाडीकै लागि निराशाजनक क्षण थियो ।

टिमलाई आवश्यक परेको बेलामा योगदान दिन नसकेकोमा सुवासलाई हिनताबोध छ । भन्छन्, ‘सन् २०११ यता नेपालको ओपनिङ गरेको हुँ, त्यसहिसावले म माथि ठूलो लगानी र अपेक्षा पनि थियो । २६–२७ वर्षको उमेर भनेको कुनैपनि खेलाडीले सबैभन्दा राम्रो प्रदर्शन गर्ने समय हो, त्यस बेलामा चाहीँ म टिमबाहिर हुन पुगेँ ।’

कमब्याककाे तयारी

सन् २०१६ को जुलाईमा अभ्यासका क्रममा औंलामा चोट लागेपछि टिमबाट बाहिरिएका सुवास क्रिकेटमा फर्कने तयारी गर्दै गर्दा सात महिना अघि अर्को दुर्घटनामा परे । नाडीको हड्डी भाँच्चिएर शल्यक्रिया गराएका उनी अब क्रिकेटमा फर्कने तयारीमा छन् ।

सुवासले भने, ‘कमब्याकको बाटो भनेको सामान्य अवस्थामा क्लव, जिल्ला, क्षेत्र हुँदै केन्द्रमा पुगिने हो तर, हाम्रो हकमा अहिले त्यो सम्भव भएन । त्यस हिसावले अगाभी जस्तो फिल गरिरहेको छु । तर अर्कोतर्फ हामीसँग ईपीएल, डीपीएल जस्तो निजी क्षेत्रबाट आयोजना हुने प्रतियोगिता छन् । जहाँ राम्रो गरेको खण्डमा नेपाली टिमबाट खेल्ने अवसर पाइन्छ ।’

‘डीपीएल टूबाट कमब्याक गर्दैछु । डेढ वर्षपछि राम्रो प्रतियोगिता खेल्न लागेको छु, त्यहाँ राम्रो गर्ने प्रयास गर्नेछु, राम्रो गरेको खण्डमा क्याम्पमा पनि परिएला !’

आगामी चैत १७ गतेदेखि धनगढीमा धनगढी प्रिमियर लिग आयोजना हुुँदैछ । त्यही प्रतियोगिताबाट पुनरागमन गर्ने योजनामा रहेका सुवासको लक्ष्य पेरि राष्ट्रिय टिममा पर्ने हो । तर, त्यसका लागि हतारो छैन ।

भर्खरै इन्ज्यूरीबाट फर्किएका उनी एकपछि अर्को घरेलु प्रतियोगितामा राम्रो खेल्न चाहन्छन् । नेपालबाट ६ लिष्ट ए र ८ टि–२० अन्तर्राष्ट्रिय खेलेका सुवास आफ्नो यसअघिको अनुभव टिमका लागि पुनः उपयोग गर्ने लक्ष्यमा छन् ।

करिअरकाे सुरूअात

त्यसोत सुवासको क्रिकेट अरिअरकासुरुआती दिन पनि रोचक छ । दाई राजन खकुरेलको साथमा लागेर सानैदेखि क्रिकेट खेल्न सुरु गरे पनि उनी नेपालका लागि उमेर समूहको क्रिकेट हुँदै सिनियर टोलीमा छानिएका होइनन् ।

बानेश्वरस्थित हिमालय ह्वाइट कलेजमा भर्ना भएपछि उनको क्रिकेट करिअरले गति लियो । तत्कालिन राष्ट्रिय टोलीका खेलाडीहरु बिनोद दास, कनिस्क चौलागाई, पारस खड्का, शरद भेषावकरहरु ह्वाइटहाउसमा क्रिकेट खेल्न आउँथे, उनीहरुसँग प्रतिस्पर्धा गन थालेपछि उनी खारिँदै गए ।

‘२०६१–६२ तिर हिमालयन ह्वाइट हाउस कजेलमा आएपछि मेरो वास्तविक क्रिकेट करिअर सुरु भएको हो । त्यतिबेला ह्वाइटहाउस कप भन्ने प्रतियोगिता नै हुन्थ्यो । बनोद दास, पारस खड्का शरद भेषावकर कनिस्क चौगाईंहरु खेल्न आउनुहुन्थ्यो, मज्जा लाग्थ्यो ।’

राष्ट्रिय टोलीको क्याम्पमा सन् २००८ देखि नै पर्न थाले पनि उनी टिममा पर्न सकेका थिएनन् । त्यसले निराशा पनि उत्तिकै थपिएको थियो । एकपटक त उनले सोचेका थिए कि ‘खेलेर करिअर बनाउन सकिन्न, अब बिदेश जान्छु ।’

‘२००८ देखि नै क्याम्पमा पर्न थालेको हो । तर, टिममा पर्न सकिन । यु १९ क्याम्पबाट पनि फालिएको थिएँ । एक हिसावले मैले क्रिकेट खेल्ने चान्स पाउँदिन, मेरो करिअर यति नै हो भन्ने लागेको थियो ।’

‘साग गेम्सको लागि क्याम्प सुरु भयो, सुरुआती ३० जनाको लिष्टमा पनि म परिनँ । त्यसमा पनि नपरेपछि म झनै निराश बनेको थिएँ । बिदेशतिर जानुपर्ला भन्ने सोचिसकेको थिएँ । पुतलीसडकमा एउटा कन्सल्टेन्सीमा बुझ्न पनि गएको थिएँ ।’

‘क्याम्प सुरु भएको सातापछि उनलाई क्याम्पमा आउन खवर आयो । क्याम्पमा गएर राम्रो ब्याटिङ गरी, तत्कालीन प्रशिक्षकलाई प्रभावित पारे, फलस्वरुप साग गेम्सका लागि उनी य–२३ टिममा छानिए । र, उमेर समूहको सिनियर टिमबाट खेल्न पाए ।’

त्यसपछि उनले पछाडि फर्केर हेर्नुनपर्ला भन्ने साेचेका थिए । तर..

 

पुबुदुकाे नजरमा परेकाे त्याे छक्का

बंगलादेशबाट फर्किएपछि यू–१९ विश्वकप छनोट खेल्न आयरल्याण्ड पनि गए । तर, उमेर समूहको दुई प्रतियोगिता खेलेका सुवास सिनियर क्याम्पमा अझै परेनन् ।

सिनियर क्याम्पका दुई खेलाडी मेहवुव आलम र भुवन कार्मी चोटग्रस्त भएपछि बल्ल उनको पालो आयो ।

टेम्पो चढेर कलेज हिँडेका उनलार्इ कप्तान पारसले फोन गरेपछि कलेज नगइ सिधै कीर्तिपुर पुगे । जहाँ एसीसी टि–२० कपको तयारी भइरहेको थियो, नेपालका लागि पुबुदु दाशानायकेको पहिलो प्रतियोगिता थियो त्यो ।

क्याम्पमा गएको दोस्रो दिन नै उनले ब्याटिङ गर्ने अवसर पाए । पुवुदुको प्रशिक्षणमा उनले राम्रो खेले र क्याम्पमा नियमित पर्न थाले ।

‘मेरो पहिलो अभ्यास खेलमा ९ नम्बरमा ब्याटिङमा गएको थिएँ । टिमको अवस्था एकदमै कमजोर थियो । ७० रनमा ८ विकेट गइसकेको थियो । त्यतिबेला क्रिजमा गएर मैले एउटा छक्का हानेको थिएँ । त्यो छक्का पुबुदु सरका नजरमा परेछ, र त्यहीँबाट प्रभावित भएर उहाँले नियमित क्याम्पमा बोलाउनु भयो र टिमबाट पनि नियमित खेल्न पाएँ ।’

अमेरिकासँगको खेलमा क्रिजमा छिर्न लाग्दा बिनोद दाइ (दास)ले भन्नुभएको थियो “बाजे, तिमीले राम्रो चान्स पाएका छौं, यो अवसर फेरि आउँदैन, टिकेर खेल्नु सेन्चुरी हान्नु”

 

अमेरिकाबिरूद्दकाे कीर्तिमानी इनिङ

सन् २०११ मा भएको एसीसी टि–२० इलाइट कपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका सुवासले त्यसपछि मलेशियामा भएको डिभिजन फोर क्रिकेट खेले । जहाँ उनले अमेरिकाबिरुद्ध ११५ रनको शतकीय इनिङ खेले । यो नै नेपाली क्रिकेटरको अन्तर्राष्टिय खेलमा सर्बाधिक व्यक्तिगत स्कोर हो ।

यू–१९ विश्वकप खेलेर फर्किएपछि प्रशिक्षणका लागि श्रीलंका पुगेका उनी उतैबाट मलेशियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरका लागि क्वालालम्पुर गए ।

सुरुआती दुई खेलमा नेपालले जित हासिल गरे पनि सुवासको ब्याटिङ स्मरणीय भएको थिएन । तर, अमेरिकासँगको तेस्रो खेलमा उनले इतिहासै कायम गरे । ११५ रनको शतकीय पारी कुनैपनि नेपाली क्रिकेटरले बनाएको सर्बाधिक अन्तराृष्ट्रिय स्कोर हो ।

‘अमेरिकासँगको खेलमा क्रिजमा छिर्न लाग्दा बिनोद दाइले मसँग मसँग भन्नुभएको थियो कि बाजे, तिमीले राम्रो चान्स पाएका छौं, योङ छौ हामीले पहिला ब्याटिङ गर्दै छौ, यो अवसर फेरि आउँदैन, टिकेर खेल्नु सेन्चुरी हान्नु ।’

मेरा लागि क्रिकेट शिक्षा हाे, हाम्रो जस्ताे देशकाे हकमा क्रिकेट जीवन भइसकेको छैन, यद्यपि क्रिकेटले धेरै सिकाएकाे छ, मेराे हकमा खेल्ने, खाने, मानिससँग कुरा गर्ने लगायत जीवन जीउने कला क्रिकेटले सिकाएकाे छ

‘सुरुमा केहि गाह्रो भएको थियो, फेरि अनिल मण्डल आउट भएको थियो । म अर्को ओपनर आउट भएपछि ब्याटिङमा झनै फोकस हुन्छु । त्यस्तै भयो । मैले सेन्चुरी हानेँ ।’

‘७० रन जति बनाउँदा म हिट विकेट आउट थिएँ, पुल शट हान्न लाग्दा ब्याटले स्टम्पमा लागेर बेल खसेको थियो । तर, अम्पायरले देखेनन्, त्यो शट चौका भयो, पछि रन लिन लाग्दा ब्याटले हानेजस्तो गरेर अर्को वेल पनि झारिदिएँ र बचेँ ।’ त्यतिबेलाको रोचक पल सुवास अहिले स्मरण गर्छन् ।

त्यस खेलको अर्को रोचक कहानी पनि छ । अमेरिकासँगको खेलमा उनले अञ्जानमै उल्टो लुगा (स्किनर) लगाएर गएका रहेछन् । त्यही दिन उनले शतक हाने । अर्को खेल डेनमार्कसँग थियो । उल्टो लुगाले लक लागेजस्तो लागेर त्यस खेलमा पनि उनले उल्टो स्किनर लगाएर गए, ‘तर, दोस्रो बलमै आउट भएँ ।’ उनले हास्दै सुनाए ।

सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकप क्रिकेटमा नेपालको ओपनिङ संहालेका सुवासले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सुरुआती चार खेल खेलेका थिए । नामिवियाविरुद्धको खेलअघि उनी चोटग्रस्त भएका हुन् ।

लगातार ५ वर्ष सिनियर राष्ट्रिय टोलीमा विताएर नेपालका धेरै महत्वपूर्ण उपलब्धिको साक्षी बनेका सुवासका लागि क्रिकेट के हो त ? उनकै शब्दमा भन्दा उनका लागि क्रिकेट शिक्षा हो । ‘नेपालको हकमा क्रिकेट जीवन भइनसकेको अवस्थामा क्रिकेट एउटा शिक्षा हो, जसले खेलाडीलाई खेल्ने, खाने, मानिससँग कुरा गर्ने सबै सिकाएको छ ।’

‘सन् २००८ भन्दा २०१० मा क्रिकेट अझै ब्यवसायिक भएको छ, हामीले टि–२० विश्वकप खेलेपछि अझै राम्रो भयो, अवको १० वर्षपछि क्रिकेट लाइफ पनि हुन सक्ला, तर अहिलेको अवस्थामा मेरा लागि क्रिकेट शिक्षा हो ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey