र्‍याफ्टिङको समस्याः गाइडलाई खेलाडी बनाउनै गाह्रो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 244 पटक हेरिएको

फागुन १६, चितवन । शाहसिक खेलकुदको एउटा विधा र्‍याफ्टिङ तथा क्यानोइङले नेपालमा खेलकै रुप लिन थालेको धेरै भएको छैन । ह्वाइट वाटर र्‍याफ्टिङका लागि विश्वमै परिचित नेपालका नदीहरुमा व्यवसायिक रुपमा र्‍याफ्टिङ क्यानोइङ भइरहन्छन् । बाह्यमात्रै होइन आन्तरिक पर्यटकमाझ पनि र्‍याफ्टिङ लोकप्रिय छ ।

युवराज लामाले आफू राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएका बेला नेपाल पर्वतीय खेलकुद संघ गठन गरेर एड्चभेन्चर स्पोर्टसलाई एकत्रीत गर्ने प्रयास गरेसँगै व्यवसायिक र्‍याफ्टिङले पनि खेलको रुप लिन थाल्यो, अझै पनि समग्र रुपमा यसलाई खेलको परिधीमा ढाल्न सकिएको छैन । नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका लागि अहिलेको मुख्य चुनौति पनि त्यही हो ।

नेपालका नदीमा वर्षौं र्‍याफ्टिङ गरिरहेका गाइडहरुलाई खेलकुदका केही सामान्य नियममा समाहित गराउनु संघका लागि अहिले ठूलो चुनौति बनेको छ ।

यसै साता सम्पन्न पर्वतीय खेलकुद महोत्सव अन्तर्गतको छैटौं कायकिङ स्लालोम तथा दोस्रो र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी एउटा टिमले खेल हारेको झोँकमा प्रतियोगितानै बिथोलिदिने धम्की दिएपछि विवाद सल्टाएर हामीसँग कुरा गर्दै नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष मनबहादुर न्यौपानेले स्वीकारे कि, ‘गाइडहरुलाई खेलाडी बनाउनै गाह्रो ।’

प्रतियोगिताका आधारभूत अनुशासनको पालना नगर्ने, प्रतिबन्धित बस्तु सेवन गरी खेलमा सहभागी हुने तथा खेललाई मनोरञ्जनको रुपमा लिने गाइडहरुको व्यवहारले उनीहरु खेलमा व्यवसायिक बन्न सकिरहेका छैनन् भन्ने प्रतीत हुन्छ ।

छैटौं कायक स्लालोम च्याम्पियनसिपका विजेता नेपाल कायक क्लवका सुर्जन तामाङ खेलको नियममा रहेर खेल्न नसक्ने जो कोही खेलाडी हुनै नसक्ने कुरामा सहमत छन् । उनले भने, ‘त्यस्ता खेलाडीहरु जो अनुशासनमा रहँदैनन्, रक्सी पिएर खेल्न आउँछन् भने उनीहरुलाई सुधार गर्नै सकिँदैन, उनीहरुले खेल होइन मनोरञ्जनका रुपमा लिन्छन् भने हामीले जति गरे पनि सुध्रिँदैनन् ।’

सुर्जनका अनुसार वास्तविक व्यवसायिक खेलाडी उत्पादन गर्ने र भविश्यमा अन्तर्राष्ट्रिय मेडल ल्याउने उद्देश्य राख्ने हो भने संघ आफैंले खेलाडी उत्पादन र बढी भन्दा बढी प्रतियोगितालाई जोड दिनुपर्छ । ‘खराव मानिसलाई समाएर हुँदैन, उनीहरुलाई सुधार्न सकिँदैन भने नयाँ खेलाडी उत्पादन गर्नुपर्छ । खेलाडीलाई व्यवसायिक बनाउनुका साथै राम्रो सुविधा पनि दिनुपर्छ ।’

त्यसो त खेलको प्रचारप्रसार र व्यवसायिकताको सवालमा नेपाल र्‍याफ्टिङ संघले ‘माखो मारेको’ छैन । वर्षमा एउटा प्रतियोगिता सञ्चालन गर्ने, त्यही प्रतियोगिताको शीर्ष टिम र खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाएर मात्रै आफ्नो जिम्मेबारी पूरा भएको सम्झनु संघको भुल हुन्छ । नेपालमा त्रिशुली, भोटेकोशी, कालीगण्डकी लगायतका नदीहरुमा वर्षको करिव ९ महिना नियमित र्‍याफ्टिङ गर्न सकिन्छ । त्यस्तै सेती, मर्स्याङदी, सुनकोशी, अरुण लगायतका नदीहरुमा पनि र्‍याफ्टिङको उच्च सम्भावना छ, भइरहेको पनि छ । तर, संघको कार्यक्रम वार्षिक एउटा प्रतियोगितामा सीमित छ ।

खेलाडी पलायन अर्को समस्या

ह्वाइट वाटर र्‍याफ्टिङका लागि नेपालका नदीहरु संसारमै उत्कृष्ट मानिन्छन् । त्यसैले पनि यहाँ उत्पादन हुने गाइडहरुको माग विश्व बजारमै उच्च छ । नेपालबाट जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, डेनमार्क, आइसल्याण्ड लगायतका मुलुकमा यस्ता गाइडको माग उच्च छ ।

नेपाली गाइडहरु वर्षको ६ महिना नेपाल र ६ महिना बिदेशमा हुन्छन् । हालै सम्पन्न प्रतियोगिताका विजेता खेलाडीहरु पनि तीनै हुन्, जो छुट्टीमा आएका बेला प्रतियोगिता जिते । कायक स्लालोम च्याम्पियनसिपका विजेता सुर्जनमात्र होइन उपविजेता सुमन थापा, तेस्रो भएका बिकास गुरुङ पनि बिदेशमै व्यवसायिक र्‍याफ्टिङ गर्छन् ।

  • कायक स्लालोम च्याम्पियनसिप विजेता सुर्जन तामाङ 

डेनमार्कमा व्यवसायिक र्‍याफ्टिङ गरिहेका कायक च्याम्पियन सुर्जन तामाङ आगामी अगष्टमा हुने एशियाली खेलकुदका लागि छनोट भएका छन् । तर, उनी छिट्टै डेनमार्क जाने तयारीमा छन् । ‘उता हाम्रो सिजन सुरु हुन आँट्यो, सेप्टेम्बरको अन्तिमसम्म सिजन चल्छ । तर, त्यही समयमा गेम हुन्छ । कसरी मिलाउने सोच्दैछु ।’ सुर्जनले भने ।

खेलाडीलाई बिदेश पलायनबाट रोक्ने संघसँग कुनै कार्यक्रम छैन । बिदेशमा व्यवसायिक र्‍याफ्टिङ गरी लाखौं कमाउने गाइडहरु राष्ट्रिय खेलाडीको लोभमा नेपालमै थन्किन चाहँदैनन् । संघको हैसियद उनीहरुलाई नेपालमै राखेर लाखौंको सुविधा उपलब्ध गराउने छैन ।

संघका अध्यक्ष मनबहादुर न्यौपानेले अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएका खेलाडीलाई प्रशिक्षणको व्यवस्था गराउने पहल संघले थाल्ने बताए । तर, एशियाली खेलकुद आउन करिव ७ महिनाको समय बाँकी रहँदा खेलाडी र संघ दुवै अन्यौलमा देखिन्छन् ।

तयारी थोरै, अपेक्षा धेरै

नेपालले सन् २०१७ को अक्टोबरमा जापानमा भएका विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । विश्वस्तरीय प्रतियोगिताको पहिलो सहभागितामै नेपाली टोली चौथो स्थान हासिल गरी एड्भेञ्चर स्पोर्ट्सको यस विधामा उच्च सम्भावना देखाइसकेको छ ।

अर्को वर्ष अर्जेन्टिनामा विश्व र्‍याफ्टिङ च्याम्पियनसिप हुँदैछ । त्यसका लागि नेपालबाट पोखराको प्याडल नेपाल क्लवको टोली छनोट भइसकेको छ । यसै टोलीले चितवनको फिस्लिङमा फागुन १३ देखि १५ सम्म चलेको प्रतियोगिताको उपाधि जितेको थियो ।

  • र्‍याफ्टिङ च्याम्पियनसिपकाे विजेता टिम प्याडल नेपाल, पुरस्कार ग्रहणपछि 

त्यसै प्रतियोगतामा कायकतर्फका शीर्ष तीन स्थानमा आएका सुर्जन तामाङ, सुमन थापा र बिकास गुरुङ अगष्ट सेप्टेम्बरमा हुने एशियाली खेलकुदका लागि इण्डोनेशिया जानेछन् ।

गत संस्करणको विश्व च्याम्पियनसिपमा चौथो स्थान आएको भनेर गर्व गरिरहेको नेपाल र्‍याफ्टिङ एशोसियसनसँग आगामी संस्करणमा अझै राम्रो खेल्न र पदक जित्ने सपना सार्थक बनाउन कुनै तयारी तथा योजना छैन ।

संघका अध्यक्ष न्यौपाने भन्छन्, ‘संघको बजेट पर्याप्त छैन, सरकारी सहयोग छैन, त्यसैले समस्या भइरहेको छ ।’ उनले थपे, ‘क्लवस्तरबाट धेरै कामहरु भइरहेका छन्, यसलाई निरन्तरता दिन सकिएमात्रै पनि हामी विश्व च्याम्पियनसिपमा उपाधिको हकदार हुन सक्छौं ।’

संघको वार्षिक कार्यक्रमअनुसार भइरहेको प्रतियोगिताबारे पनि खेलाडीहरुले समयमा जानकारी नपाएको बताए । सुर्जन पनि मात्र ३ साताको तयारीमा कायक स्लालोमको च्याम्पियन बनेका हुन् । ‘म नेपाल आएपछि थाहा पाएँ, तीन साता तयारी गरेपछि प्रतियोगिता खेलेको हुँ ।’

स्लालोम कायकका लागि नेपालको त्रिशुली नदी विश्वस्तरीय मापदण्डअनुसार छ । २५ वर्षीय च्याम्पियन सुर्जन भन्छन्, ‘यो नदी अन्तर्राष्ट्रिय स्तरभन्दा पनि माथि होला, किनभने बाहिर कुलोजस्तो ठाउँमा र्‍याफ्टिङ, कायकिङ हुन्छ, तर यहाँ त यति ठूलो र बेगको नदी छ ।’

‘यहाँ हामीले राम्रो तयारी, फिजिकलका साथै टेक्निकल ज्ञानसमेत हुने हो भने हामी मेडल ल्याउन सक्छौं । यसरी वर्षको एउटा प्रतियोगिता, त्यसपछि बिदेश र सिधै प्रतियोगिता खेल्न मात्र आउँदा त हामीले कसरी मेडलको आशा गर्नु ?’

‘सबैथोक राम्रो हुँदा हामी पनि बिदेश बस्न चाहँदैनौं, तर, यहाँ सुविधा थोरै छ, राष्ट्रिय टिममा रहेका खेलाडीहरुको हालत त झनै खराव छ, हामीले पनि परिवार पाल्नुपर्यो नि होइन ?’ सुर्जन प्रतिप्रश्न गर्छन् ।

६ वर्षको छोटो समयमै विश्वस्तरीय प्रतियोगितामा सम्भावना देखाएको नेपाली र्‍याफ्टिङ तथा पहिलो पटक एशियाली खेलकुदमा सहभागिता पाएको स्लालोम क्यानोइ बिधाका कारण नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्स्पोजर पाउन थालेका छन् ।

शाहसिक खेलकुदमार्फत विश्वलाई चिनाउने अभियानमा रहेका खेलाडीलाई नियमित प्रशिक्षण र पलायनको समस्या समाधान गर्न सकेको खण्डमा जलश्रोतको धनी देश नेपाललेले र्‍याफ्टिङमा पनि फड्को मार्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey