डेनमार्कका खेलाडी एरिक्सन खतरामुक्त, घटना कसरी भएको थियो ?
- नेप्लेज
- |
- २०७८-०३-०२
- |
- 996 पटक हेरिएको
युरोकप २०२० को शनिबार राति भएको खेलमा दुर्घटना हुन पुगेको छ । फिनल्याण्ड र डेनमार्कबीचको खेलको ४३ औं मिनेटमा डेनमार्कका स्टार खेलाडी क्रिष्चियम एरिक्सन बेहोस हुँदै मैदानमा लडेका थिए ।
उनलाई हृदयघात भएको हो । तत्कालै मेडिकल टिमले उनको मैदानमा १० मिनेट जति उपचार गरेपछि अस्पताल लगेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले उनको अवस्था ठिक तर स्थिर रहेको छ ।
घटनापछि डेनमार्कका खेलाडी फ्यानहरु रोएका थिए ।
आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमका खेलाडीको आग्रहका कारण २ घण्टापछि खेल शुरु भएको थियो । कोपनहेगनको पर्केन स्टेडियममा भएको उक्त घटनापछिको खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो । फिनल्याण्डले युरोको डेब्यु खेलमै जित हात पार्न भने सफल रह्यो ।
घटना कसरी भएको थियो ?
४३ औं मिनेटमा डेनमार्कले थ्रो गर्ने अवसर पाएको थियो । त्यतिबेला दुवै टिमको स्कोर ०–० रहेको थियो । डेनमार्कका खेलाडी एरिक्सनलाई बल थ्रो गरिएको थियो । बल रिसिभ गर्ने बेला एरिक्सन अचानक बेहोस हुन पुगेका थिए । त्यसपछि खेलाडीहरुले मैदानमै मेडिकल टिमलाई बोलाए । मैदानमै सीपीआर दिइएको थियो । डेनिस फुटबल फेडरेशनले पनि अहिले एरिक्सन ठिक रहेको जनाएको छ । पछि उक्त खेल राति सवा १२ बजे ४३ औं मिनेटबाट शुरु भएको थियो ।
म्याच दोस्रो पटक शुरु भएप्छि डेनमार्कका खेलाडी एरिक्सनका कारण तनावमै थिए । त्यसबाट उनीहरु माथि उठ्न नसकेको फाइदा उठाउँदै फिनल्याण्डले डेब्यु म्याचमै जित हात पार्दै इतिहास बनायो । फिनल्याण्डले अहिलेसम्म विश्वकप या युरोकप खेलेको थिएन । फिनल्याण्डलाई जिताउनका लागि ६० औं मिनेटमा पोहनजनपालेले गोल गरेका थिए ।
तर, डेनमार्कले पहिलो हाफमा फिनल्याण्डमाथि राम्रो दाबाब बनाएको थियो । पहिलो हाफको खेल स्थगित हुँदासम्म डेनमार्कले ८ पटक गोल पोस्टमा प्रहार गर्दा ३ प्रहार अन टार्गेट रहेका थिए । डेनमार्क टिमलाई युरो कपको समिकरणमा ठूलो तलमाथि पार्न सक्ने टिमको रुपमा गणना गरिन्छ ।
उक्त खेलमा डेनमार्क भने १–० गोल अन्तरले पराजित हुन पुग्यो । डेनमार्कले अब १७ जुनमा बेल्जियम र २२ जुनमा रुससँग खेल्न बाँकी छ ।