कराँतेमा वाइल्ड कार्डको सम्भावना लगभग समाप्त, ७ बर्षदेखि डब्लुकेएफमा नेपालकाे संघ नै नविकरण छैन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 1200 पटक हेरिएको

ओलम्पिकको इतिहासमा पहिलो पटक समावेश भएको कराँतेको टोकियो ओलम्पिकमा सहभागिताका लागि नेपालको वाइल्डकार्डको आशापनि लगभग समाप्त भएको छ ।

पछिल्लो करिव ६ बर्षदेखि अन्तराष्ट्रिय कराँते महासंघमा नेपालको संघ नविकरण भएको छैन ।

नेपालमा २०७५ सालमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको रोबरोहमा दुबै कराँते संघ मिलेर एक भएका थिए । तर त्यो प्रक्रिया कागजमा उतारेर अन्तराष्ट्रिय महासंघलाई भने जानकारी भएको रहेनछ ।

किनकी अहिलेपनि अन्तराष्ट्रिय कराँते महासंघको वेबसाइटमा पुरेन्द्रविक्रम लाखे नै अध्यक्ष भनेर उल्लेख छ ।

सन् २०१४ बाट नै डब्लुकेएफका आधिकारीक प्रतियोगितामा नेपालले सहभागिता गर्नबाट बञ्चित भइसकेको थियो ।

महासंघले नेपाललाई बारम्बार चेतावनीसहितका इमेल पनि पठाएको स्रोतले जनाएको छ । नेपालमा दुई संघ अस्तित्वमा हुँदा जुन समस्या देखिएका थिए, अहिले ओलम्पिकको मुखैमा झन ठूलो समस्या देखा परेको छ ।

टोकियो ओलम्पिकको सपना देखेका नेपाली खेलाडी अहिले निराश हुने अवस्था आएको छ ।

 

विहिबार विहानै टोकियो ओलम्पिकको तयारीमा रहेका प्रशिक्षक दिपक श्रेष्ठले एक स्टेटस आफ्नो फसबुकमा राखेका थिए, उनले सो स्टेटसमा लेखे, वार्षिक नविकरण र शुल्क बुझाएको भए ओलम्पिक वाइल्डकार्डको संभावना बढी हुने थियो ।

तर विश्व कराँते महासंघमा नेपाल कराँते महासंघ नविकरण नभएको खबर थाहा पाएपछि निकै निराश हुँदै अब वाइल्ड कार्डको आशा नै समाप्त भएको बताए । प्रशिक्षक दिपक श्रेष्ठले भने ओलम्पिकका लागि वाइल्ड कार्ड विपन्न देशलाई दिने हो, तर गरिव राष्ट्र भनेर नहेर्ने र उसले फेडेरेसनसँग समन्वय गर्ने, त्यसमा राम्रो नभएमा वाइल्डकार्ड  पाउने संभावना समाप्त हुने बताए ।

यसअघि पनि कराँतेका खेलाडीलाई पोर्चुगलमा खेल्नका लागि निमन्त्रणा आएको थियो । तर त्यसमा संघले सहयोग नगर्दा हामीले खेल्ने मौका गुमायौं । त्यो प्रतियोगिताका लागि नेपाल ओलम्पिकको माध्यमबाट अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई आग्रह गरेर अन्तिम समयमा भिषाका लागि आउन भनेको थियो । तर दुतावास नयाँ दिल्लीमा भएकाले त्यो लिनपनि कठिन भएको बताए ।

सो प्रतियोगिता अप्रिल ३० देखि मार्च दुई तारिखसम्म हुने थियो । सो प्रतियोगिता खेलेको भए छनौटका लागि बरियतामा अंक जोड्ने राम्रो मौका थियो । तर अब पेरीसमा जुन १० र ११ मा हुने छनौटमा आफुहरुले सहभागिता गर्न नपाउने भएका छौ । जसका कारण ओलम्पिकका लागि अन्तिम आशा वाइल्ड कार्ड बनेको थियो, त्यो पनि संघ नविकरण नहुँदा समाप्त जस्तै भएको बताए ।

ओलम्पिकका लागि महिलामा अनु अधिकारी र पुरुषमा नवी रसाइली वाइल्ड कार्डको आशामा छन । सागको स्वर्णपदक विजेता दिपक श्रेष्ठले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन । तर संघ नविकरणका कारण वाइल्ड कार्डको संभावना निकै कम भएपछि उनीहरु निकै निराश भएका छन ।

के भन्छ नेपाल ओलम्पिक कमिटी ?

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले तीन बर्ष अगाडी नै दुबै संघ मिलेको भनेर नयाँ अध्यक्षमा शम्भु आचार्यलाई अध्यक्ष बनाएको थियो । यस्तै दावा गुरुङ कार्यबाहक अध्यक्ष छन भने पुरेन्द्रविक्रम लाखे उपाध्यक्ष बनेका थिए ।

तर एक भयौं भनेको एक यति लामो समयसम्मपनि कराते महासंघले आधिकारीक रुपमा नेपाल ओलम्पिक कमिटीमा पत्र नपठाएको महासचिव श्रेष्ठले बताए ।

उनीहरुलाई तीन महिनामा निर्वाचन गर्नुपर्ने सर्त थियो, तर त्योपनि नभएको उनले बताए । उनीहरु तीन जना तीन तिर रहेको बताए ।

संघ मिलेपछि नेपाल ओलम्पिक कमिटीको माध्यमबाट अन्तराष्ट्रिय महासघंमा जानकारी गराउनुपर्ने हो, तर अहिलेसम्म त्यो हुन सकेको छैन ।

अहिलेपनि कराते विवाद बाहिरीरुपमा मिले पनि भित्र एकजुट हुन नसकेको आशंका गरिएको श्रेष्ठले बताए ।

यसका साथै टोकियो ओलम्पिकका लागि कराँतेले वाइल्ड कार्ड पाउने संभावना यसैपनि निकै न्यून रहेको थियो ।

किनकी विश्वभरबाट दुई महिला र दुई पुरुष खेलाडीले वाइल्डकार्ड पाउने भनिएको छ । यस्तैमा डब्लुकेएफमा नेपाल कराँते नविकरण नहुँदा त्यसको असर वाइल्डकार्ड पर्ने श्रेष्ठले बताए ।

उनले वाइल्डकार्डका लागि डब्लुकेएफको गुड बुक्समा रहेको हुनुपर्ने, आयोजकले मात्र निर्णय गरेर नहुने, आइओसी, आयोजक र त्रिपाटाइट कमिसनले निर्णय निर्णय गर्ने कुरा हो । त्यसैले डब्लुकेएफले नै रातो सूचीमा राखेको छ भने वाइल्ड कार्ड पाउनपनि निकै कठिन हुने उनले बताए ।

नेपालको संघ नविकरण भएको असर वाइल्ड कार्डमा पर्दैन–कार्यबाहक अध्यक्ष गुरुङ

नेपाल कराते महासंघका कार्यबाहक अध्यक्ष दावा गुरुङले सन् २०१४ पछि नेपाल कराते महासंघ अन्तराष्ट्रिय कराते महासंघमा नविकरण नभएको हो ।

उनले एकीकरणपछि नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय कराँते फेडेरेसनमा अपटेड नगरिदिएको पनि बताए । ‘ओलम्पिक कमिटीले निर्वाचनपछि अपटेडसहितको जानकारी दिने भनेको थियो ।

अहिलेसम्म चुनाव नै हुन सकेन,’ दावाले भने । यो नविकरण दुई बर्षमा एक चोटी गर्नुपर्ने र यसका लागि एक पटक नविकरण गर्दा २६ सय स्विस फ्रांक तिर्नुपर्ने हुन्छ ।

अहिलेको अवस्थामा कराते महासंघले आफ्नो संघ नविकरणका लागि १० हजार स्विस फ्रांक तिर्नुपर्ने हिसाव रहेको छ । संघ नविकरणको जिम्मा पुणेन्द्रविक्रम लाखेलाई दिइएको बताइएको छ । उनले यसका लागि राष्ट्रिय खेलकुद परिषद्मा नविकरण शुल्क पाउ भनेर निवेदन पनि दिएका थिए । जुन निवदेन अहिले मन्त्रालयमा रहेको छ ।

तर नेपाल कराते महासंघका कार्यबाहक अध्यक्ष दावा गुरुङ भने नविकरणको असर वाइल्डकार्डमा नपर्ने दावी गर्छन । जबकी विश्व कराते महासंघको कुनैपनीपनि कार्यक्रममा नेपाल करातले सन् २०१४ बाट भाग लिन नै पाएको छैन । त्यो बेलादेखि नै डब्लुकेएफले नेपाल कराते महासंघलाई रातो सूचीमा राखेको छ ।

डब्लु के एफमा ५६ लाख रूपैयाँ तिर्न बाँकी छ-लाखे

Lakhe Purendra Bikram - Administrative Director - Advanced College of Engineering & Management | LinkedIn

नेपालमा २ वटा कराँते अस्तित्वमा रहेका बेला एकिकरण भएको भनिएपनि अझैपनि वास्तविक रुपमा भने हुन नसकेको अन्तराष्ट्रिय मान्यता प्राप्त पुरेन्द्रविक्रम लाखेले बताए ।

उनले डब्लुकेएफको प्रतिनिधि आएर नेपालमा निर्वाचन हुनुपर्ने बेला अहिलेसम्म त्यो हुन नसकेको र अहिलेपनि आफुलाई नै डब्लुकेएफले अध्यक्ष मान्ने बताए ।

उनले ब्यक्तिगत स्वार्थका कारण अहिलेको अवस्था आएको आरोप लगाए ।

राज्यले पनि देशलाई धेरै पदक दिलाउने खेललाई अनुदान दिइरहेको, तर त्यो रकम कसरी खर्च भइरहेको छ भन्ने हिसाव अत्तोपत्तो नभएको बताए । अब सम्बन्धित निकायले नै यसको लेखाजोखा गर्नुपर्ने बताए ।

यतिमात्र होइन, डब्लुकेएफमा नेपाल कराँते महासंघले कुल ५६ लाख रुपैयाँ तिर्नु बाँकी रहेको बताए ।

उनले नविकरणका लागि दुई बर्षमा २६ सय स्विस फ्रांक तिर्नुपर्ने हुन्छ भने पछिल्लो सात बर्षदेखि नतिरेको हुँदा प्रत्येक बर्ष १५ सय यूरो जरिवाना तिर्नुपर्ने बताए ।

यसका साथै बर्षोदेखि खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि लिँदा उनीहरुको फी पनि तिर्न बाँकी रहेको बताए । जसका कारण कुल ५६ लाख रुपैयाँ तिर्न परेको बताए । यसका लागि आफुले सरकारसँग रकमका लागि सहयोग गर्न निवेदन दिएपनि त्यो निवदेनको टुंगो नलागेको बताए ।

बर्षोदेखि डब्लुकेएफको प्रतियोगिता खेल्न जाँदा नतिरेको रकम सबै जोड्दा अहिले यति धेरै रकम पुगेको र कराँते महासंघको आयस्रोत नभएको बताए । उनले रकम ५६ लाख तिर्न बाँकी रहेको कुरा सोसियल मिडियामा हाल्दा लाखेले पैसा कमाउन खोजेको भन्ने आरोप पनि लागेको बताए ।

खेलको अन्तराष्ट्रिय फेडेरेसनमा नविकरण गर्ने नगर्ने कुरा राखेपको क्षेत्राधिकारमा पर्दैन–सिलवाल

कराते फेडेरेसन नविकरणका लागि शुल्क मिलाउन परिषद्मा परेको निवदेनका विषयमा सदस्यसचिव सिलवालले फाइल आएको र त्यो अहिले मन्त्रालयमा पठाएको बताए ।

उनले सम्बन्धित खेलको अन्तराष्ट्रिय फेडेरेसनमा नविकरण गर्ने नगर्ने कुरा राखेपको क्षेत्राधिकारमा नपर्ने बताए । त्यसका लागि राखेपले बजेटपनि छुट्याउने नगरेको धारणा राखे ।

उनले राखेपमा कराँते महासंघको आर्थिक सहयोगको माग सहितको पत्र डेढ महिना अगाडी आएको र सो फाइललाई मन्त्रालयमा पठाएको बाँकी सोहि संघले फलो गर्नुपर्ने र आफुसँग थप जानकारी नभएको बताए ।

राखेपले नै गठन गरेको विवाद समाधान उपसमितिले २०७५ फागुनमा तीन महिनाभित्र निर्वाचन गर्ने गरी शम्भु आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

समितिले तीन महिनाभित्र निर्वाचन गर्न असमर्थ रह्यो । त्यसपछि १३ औं दक्षिण एसियाली खेलकुद नजिक आएकाले राखेपकै निर्देशनमा निर्वाचन १३ औं सागपछि गर्ने भनियो ।

साग लगत्तै कोरोना महामारी सुरु भएपछि २ वर्षभन्दा बढी समय भइसक्दा पनि कराँतेको सार्थक एकीकरण भएको छैन । अब संघका कारण खेलाडीले बारम्बार अवसर गुमाउँदाकाे जिम्मा कसले लिने ?

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal