एमाले पार्टीको विवाद अब खेलकुदमा पनि, युवा संघका नेता रमेशको नेतृत्वमा खेलकुद महासंघ गठन
- नेप्लेज
- |
- २०७८-०१-०७
- |
- 884 पटक हेरिएको
मुक्ति बाबु रेग्मी । सत्तारुढ दल नेकपा एमालेभित्रको विवादले खेलकुदमा पनि प्रभाव पारेको छ ।
तत्कालिन नेकपा पार्टीलाई सर्वोच्च अदालतको फैसलाले पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र व्युताईदिएपछि एमाले भित्रको विवाद पछिल्लो समय छताछुल्ल हुँदै गएको छ ।
ठाउँ ठाउँमा पार्टीगतरुपमा एमालेभित्र समानान्तर कमिटीको अभ्यास शुरु भइसकेको छ । एमालेमा सत्तारुढ अर्थात संस्थापन पक्षको नेतृत्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को पक्षमा माधवकुमार नेपाल र झलनाथ खनाल रहेका छन् ।
सर्वोच्चको फैसला अनुसार नेपाल खनाल समूहले २०७५ जेठ ३ गते अघिको अवस्थमा फर्कनु पर्ने अडान राखि रहेका बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले फागुन २८ मा महाधिवेशन आयोजक कमिटि गठन गरेका थिए भने चैत सात गतेको बैठकले नेपाल पक्षका नेताहरुलाई भूमिका विहीन बनाउने, माओवादीबाट एमालेमा आएका नेताहरुलाई भूमिका दिर्ने निर्णयलाई सदर गरेको थियो ।
यसपछि एमाले भित्र औपचारिकरुपमा सितयुद्ध शुरु भएको थियो । त्यसको बाछिटा कर्णाली प्रदेशमा परिसकेको छ भने नेपाल खनाल समूहले अहिले पनि समानान्तर कमिटी गठन गरेको छ । तर नेपाल खनाल समूहका नेताहरुले यसलाई समानान्तर कमिटी गठन भन्दा पनि पूर्ववत जिम्मेवारीमा फर्काएको रुपमा बुझ्न आग्रह गर्छिन केन्द्रीय सदस्य रचना खड्का ।
खनाल नेपाल समूहलाई काउन्टर दिनकै लागि ओली पक्षले पनि अहिले विभिन्न ठाउँमा कमिटि गठन गर्दै आएको छ । र उसले यसलाई कमिटी पूनर्गठनको संज्ञा दिएको छ ।
यसबीचमा विभिन्न प्रदेश तथा जिल्लाहरुका नेताहरुको कार्याविभाजन तोक्दै आएको ओली समूहले मंगलबार खेलकुदमा पनि कमिटी विस्तार गरेको छ । यसअघि नै एमालेको खेलकुदमा नेपाल खेलकुद महासंघ (नेकोस) क्रियासिल रहेको थियो । यसलाई माधव नेपाल पक्षका नेता तथा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेतृत्व गर्दै आएका थिए । ओली भूमिका विहीन अवस्थामा रहेका बेला उनले खेलकुदमा संगठट विस्तारका लागि मदन भण्डारी स्पोर्टस एकेडेमीका नाममा काम गर्दै आएका थिए । नेकोस र मदन भण्डारी स्पोर्टस एकेडेमीको सम्बन्ध पनि त्यति सुमधुर रहन सकेको थिएन् ।
अहिले पार्टीमा देखिएको विवादकै कारण ओली पक्षले नेकोसमा नयाँ कार्यसमिति चयन गरेको छ । ओली समूहले रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय नेपाल खेलकुद महासंघ गठन गरेको छ । पौडेल नेकपा बन्नु अघि युवा संघका अध्यक्ष थिए । उनले त्यतिबेला राजीव पहारी पछि युवा संघको नेतृत्वमा आएका थिए । तर, एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेको युवा संघमा पौडेल सह संयोजक रहेका थिए भने संयोजकको जिम्मेवारीमा दीपशीखा रहेका थिए ।
तर, अहिले माओवादी केन्द्र र एमाले आ आफ्नै अस्तित्वमा आएपछि पौडेल युवा संघको नेतृत्वमा रहन छाडेर खेलकुदमा प्रवेश गरेका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भको कार्यकर्ता भेलाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । उक्त कार्यसमितिमा मदन भण्डारी स्पोर्टस एकेडेमीमै रहेकाहरुको बाहुल्यता रहेको छ ।
नयाँ कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, सुभाष श्रेष्ठ, गोबिन्द भट्टराई, एकेन्द्र कुँवर, दिपेन्द्र दाहाल, प्रभात बिक्रम कट्वाल, मानदेव हजारा, भिम ओली, सुदर्शन गुरुङ, धुव्र आचार्य, ओम प्रसाई लगाएतका नेताहरु रहेका छन् ।
नयाँ गठन गरेको नेकोसका महासचिव मेघराज पौडेलले अध्यक्ष पुरुषोत्तम पौडेललाई कारबाही गरि नयाँ कमिटि गठन गरेको बताए । उनले भने ‘पुरुषोत्तम जीले गुटगत भेला गर्नुभयो, पार्टीले कारबाही गरेका नेताहरुलाई बोलाएर कार्यक्रमहरु गर्नुभयो, त्यसैले हामीले कारबाही गरेका हौं ।’
भेलाको पूर्व मन्त्री कर्णबहादुर थापा र नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङ, राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्णा श्रेष्ठ, मान्देव हजार, पुरेन्द्रविक्रम लाखे, रेणुका श्रेष्ठ, इन्दिरा निरौलालगायतको उपस्थिति रहेको थियो ।