खेलकूद प्रवर्द्धन गर्दै तनहुँका स्थानीय तह

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 420 पटक हेरिएको

कोरोना कहर अगाडि खेलकूदका गतिविधि भइरहने तनहुँमा कोरोना कहरका कारण एक वर्ष खेलकूद गतिविधि ठप्प भयो ।

जब कोरोनाको कहर सामान्य बन्न थाल्यो, पुनः तनहुँमा खेलकूदका गतिविधिले लय लिन थालेको छ ।

खेलकूदका गतिविधिलाई यहाँका स्थानीय तहले प्रवद्र्धन गर्न थालेका छन् । माघ १६ गते शहीद दिवसका अवसरमा चौथो व्यास नगर अल्ट्राम्याराथन सम्पन्न गरेको व्यास नगरपालिकाले नारी दिवसका अवसरमा यही फागुन २४ गते महिला हाफ म्याराथन गर्दैछ ।

खेलकूदका गतिविधिमार्फत् पर्यटकीय स्थानको प्रवद्र्धन र प्रचारप्रसार गर्ने प्रयास गरिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा नं ३ व्यासगुफादेखि ऐतिहासिकस्थल वडा नं ११ तनहुँसुरसम्म म्याराथन हुनेछ ।

“धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौ,” नगरप्रमुख न्यौपानेले भने ।

खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७७, द्वितीय हुनेलाई ३१ हजार ७७, तृतीय हुनेलाई २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई ११ हजार ७७ प्रदान गरिनेछ ।

हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै वडा नं ११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।

ऋषिङ गाउँपालिकाले केही दिन अगाडि मात्रै प्रथम ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न ग¥यो । प्रतियोगितामा तनहुँ र छिमेकी जिल्लाका १७ पालिकाको सहभागिता थियो । उक्त प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भयो ।

“खेलकूदको माध्यमबाट गाउँपालिकाको प्रचारप्रसार गर्ने उद्देश्य राखेका थियौं, उद्देश्य सफल भएको अनुभूति गरेका छौ”, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने ।

शुक्लागण्डकी नगरपालिकाले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ ।

प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता आगामी चैत १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ भने राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते आयोजना हुने नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

नारी दिवसको अवसर पारेर गाउँपालिकाले शनिबारदेखि आजसम्म राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दश हजार, आठ हजार,  पाँच हजार र ट्रफी प्रदान गरिनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey