आठौँ पोखरा स्पोर्ट्स अवार्ड : सहारा उत्कृष्ट क्लब

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 409 पटक हेरिएको

आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ संस्करणसम्म यो विधामा खेल सङ्घलाई मात्र अवार्ड प्रदान गरिँदै आएकोमा सातौँ संस्करणबाट खेल सङ्घ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड पाउन सफल सहारा क्लबको स्थापना २०५५ भाद्र ३० गते पोखरामा भएको हो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौँ’ मन्त्रका साथ स्थापित क्लब विदेशसम्म फैलिएको छ । स्थापनादेखि निरन्तर यो क्लब खेलकुद र सामाजिक कार्यमा क्रियाशील रहेको छ । २०५६ मा पृथ्वी चोकमा सार्वजनिक शौचालय निमार्ण गरेर सामाजिक कार्यको सुरुवात गरेको क्लबले २०५७ मा सहारा कप क्लब स्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

२०५८ सालमा ड्रिम प्रोजेक्टको रूपमा फुटबल एकेडेमी सञ्चालन ग¥यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा २६ रोपनी जग्गा खरिद गरी २०६९ सालमा फुटबल मैदान सँगै भवन निमार्ण सम्पन्न गरेको थियो  । अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी मार्फत क्लबले अनाथ तथा असहाय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।

२०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री बनाएको थियो । जुन डकुमेन्ट्री फिफा फुटबल अन्तर्गत विश्वको अग्र स्थानमा परेपछि बिबिसी, इएसपीएन, स्टार स्पोट्र्स, टेन स्पोट्र्सले समेत प्रसारण गरेका थिए । यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो ।

क्लबले २०५७ सालदेखि सहारा वाल प्राथमिक विद्यालयलाई प्रावि तहको एक शिक्षकको तलब दिँदै आएको छ । चर्चित युरोपियन फुटबल क्लब चेल्सीमा सुरक्षा अधिकारीको रूपमा कार्यरत पोखरा निवासी भूपेन्द्र गुरुङले पिच अनर शेयरको एक शेयर खरिद गरी शेयर सदस्यता लिएर चेल्सीमा आबद्ध भएपछि उक्त शेयर १८ सेप्टेम्बर २००७ मा भूपेन्द्रले सहारा क्लबलाई निःशुल्क रूपमा हस्तान्तरण गरेका थिए । यस्तो शेयर पाउने सहारा चेल्सीको फुटबल इतिहासमै संस्थागत रूपमा पहिलो क्लब हो ।

२०५८ सालमा क्याराभान गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रित आहा रारा फुटबल प्रतियोगिता आयोजना गदै आएको छ । गत वर्ष २३ औँ संस्करणको प्रतियोगिता सम्पन्न गरेको थियो । पोखरा तथा यस आसपासमा फुटबल खेलतर्फको रौनकता बढाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोगितालाई निरन्तरता दिएको कारण क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रूपमा आफूलाई स्थापित समेत गर्न सफल भएको छ ।

सहाराले खेल क्षेत्रमा काम गदै आएका पत्रकारहरूको हौसला बढाउन २०६३ सालबाट सहारा खेलकुद पत्रकारिता पुरस्कार वितरण गदै आएको छ ।  

२०७२ सालको भूकम्प पछि सहारा युके, सहारा हङकङ, अरुण फाउन्डेसन सँगको समन्वयमा गोरखाको घैरुङस्थित श्री गणेश प्राविमा आठ कोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित श्री हैबुङ महादेवस्थान माविमा पाँच कोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयमा पुननिर्माणकालागि सहयोग समेत गरेको थियो । यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ । यहीँ वैशाख २८ गते शुक्रवार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने भव्य कार्यक्रममा अवार्ड अर्पण गरिनेछ ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक-एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली सांस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुति समेत रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद् गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले सघाउनेछन् । प्रवर्द्धक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रूपमा पोखरा लेक साइडमा रहेको मझेरी रिर्सोट एन्ड स्पा रहेको छ ।

यसका अलावा टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.ली., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप-आभ्या क्लब, मादी गाउँपालिका, एम.ए. कन्स्ट्रक्सन प्रा.ली, बुमर्‍याङ रेस्टुरेन्ट लेक साइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भूतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट सङ्घ, इन्द्र धारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इन्जिनियर रेजिमेट एन्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ ब्युटी पार्लर प्रा.ली., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की सङ्घ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाइल टावर प्रा.ली. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रूपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा ऊर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey