काफ्लेले दुई पेनाल्टी बचाउँदा चौतारा स्पोर्टिङ लिग च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 585 पटक हेरिएको

लामोसाँघु । अतिरिक्त समयको दोस्रो मिनेटमा मैदान प्रवेश गरेका गोलकिपर विकास काफ्लेले दुई पेनाल्टी बचाउँदा चौतारा स्पोर्टिङ क्लबले सिन्धुपाल्चोक जिल्ला लिगको उपाधि जितेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सदाबहारलाई चौताराले ४-३ गोल अन्तरले पराजित गरेको हो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको हो।

पेनाल्टीमा सदाबहारका दीपक तामाङ र सरोज पराजुलीले गोल गर्न सकेनन्। उता, चौताराका कुनै पनि खेलाडी पेनाल्टीमा चुकेनन्।

उपाधिसँगै चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता सदाबहारले ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो। गत बैशाख १२ गतेदेखि आयोजना भएको प्रतियोगितामा चौतारा र सदाबहारसहित श्री कालिका युवा क्लब, त्रिशक्ति युवा क्लब, श्री राइजिङ युवा क्लब, बाह्रदेवी युवा क्लब, धार्पा युवा क्लब, साँगाचोक युवा क्लब, प्याराडाइज युवा क्लब, न्यू जेनेरेसन युवा क्लब, लामोसाँघु युवा क्लब, सुनौलो बिहानी युवा क्लब, योङ जेनेरेसन युवा क्लबले सहभागिता जनाएका थिए। 

प्रतियोगितामा राइजिङ र लामोसाँघु रेलिगेशनमा परेका छन्। बुधबार सम्पन्न पहिलो प्लेअफमा न्यू जेनेरेसनसँग १-० गोल अन्तरले पराजित हुँदै लामोसाँघु रेलिगेशनमा परेको हो। यस्तै, बिहिबार सम्पन्न दोस्रो प्लेअफमा श्री कालिका त्रिशक्तिसँग १-० गोल अन्तरले पराजित हुँदै राइजिङ पनि रेलिगेशनमा परेको थियो। 

उपाधि जितेको चौताराले पहिलो सेमिफाइनलमा योङ जेनेरेसन युवा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो। सदाबहारले भने बलियो टोली धार्पा युवा क्लबलाई ३-० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा चौतारासँगको भेट पक्का गरेको थियो। 

चौताराका कप्तान भीमबहादुर गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए। विशालजंग रायमाझी (जंगे) इमर्जिङ प्लेअर र सरोज भुजेल उत्कृष्ट प्रशिक्षक बने।

सदाबहारका सरोज पराजुलीले प्रतियोगितामा ५ गोल गर्दै गोल्डेन बुट हात पार्दा मोस्ट भ्यालुएबल प्लेअरको अवार्ड पनि जिते। त्यस्तै, सदाबहारका निग्बा तामाङ उत्कृष्ट मिडफिल्डर र दिनेश कार्की उत्कृष्ट गोलकिपर घोषित भए।

बैशाख १२ गतेदेखि सुरु प्रतियोगितामा १२ क्लबको सहभागिता थियो। पुछारमा रहेका दुई टोली श्री राइजिङ युवा क्लब र लामोसाँघु युवा क्लब रेलिगेशनमा परेका छन्। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey