जापानमा सुष्मालाई स्वर्ण, नेपालको पोल्टामा कूल एघार पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 372 पटक हेरिएको

नेपालकी सुष्मा श्रेष्ठले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।

जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र चार काश्यसहित कूल ११ पदक हासिल गर्यो । नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजी मुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराइन् ।

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउन बाध्य भए । ७४ केजी मुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाएका थिए । तर महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८–१७, ५–४ स्तब्ध भए ।

यसैगरी श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत पदक जितेका छन् । ८७ केजी मुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथि निरज जापानका मिनागावा तोरु र राहुल कुमाल जापानका साइतो सोसँग फाइनलमा पराजित भए । महिला ७३ केजी मुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित भइन् । क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो भए । यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले काश्य पदक जितेका छन् ।

नेपाल टिमका पुरुष प्रशिक्षक भजिन्द्र बहादुर क्षेत्रीले यस प्रतियोगितामा नेपालले यो भन्दा बढी स्वर्ण पदकको अपेक्षा गरेको भएपनि समग्रमा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । ‘धेरैजसो फाइनल जापानका खेलाडीसँग परेकोले पनि नेपाललाई घाटा भयो । जापानी खेलाडीहरुलाई घरेलु कोर्ट र समर्थकको फाइदा पनि भए जस्तो लाग्छ । यसैगरी नेपाल महिला टिमकी प्रशिक्षक विद्या राईले सुष्माबाट स्वर्ण पदक प्राप्त भएकोमा खुशी व्यक्त गर्दै उनले टेक्निकल खेल खेलेर जापानी खेलाडीलाई हराएकोमा आफू अझ बढी खुशी भएको प्रतिक्रिया दिनुभयो ।

जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा आयोजित दुई दिने प्रतियोगितामा २४ देशको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey