गण्डकीद्वारा मधेश पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 368 पटक हेरिएको

काठमाडौँ। लगातार दुई खेलमा पराजित भएको गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा मधेशलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा मधेशलाई गण्डकीले ८ विकेटले पराजित गरेको हो।

जितसँगै चौथो स्थानमा रहेको गण्डकीले ३ खेलबाट २ अंक जवडेको छ। पहिलो खेलमा लुम्बिनीसँग गण्डकी ७ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि बागमतीसँग ६७ रनले पराजित भएको थियो।

पराजित मधेशको समान ३ खेलबाट २ जितसहित ४ अंक रहेको छ। दोस्रो स्थानमा रहेको मधेशले पहिलो खेलमा बागमतीलाई ६ विकेटले पराजित गरेको थियो।

दोस्रो खेलमा लुम्बिनीलाई २७ रनले पराजित गर्दै मधेशले लगातार दोस्रो जित हासिल गरेको थियो। मधेशले दिएको १०३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। 

गण्डकीका अर्जुन कुमालले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए। ५१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

ईश्वर छेत्री ३२ र दीपक डुम्रे ११ रनमा आउट हुँदा सन्दीप क्षेत्री १ रनमा अविजित रहे। मधेशका विशाल पटेलले १ विकेट लिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनायो। 

मधेशका विशाल सुस्लिङले सर्वाधिक २४ रन बनाए। ३६ बल खेलेका उनले २ चौका प्रहार गरे। विशाल पटेल २२, मयंक यादव १८ र प्रदीप पासवानले १४ रन बनाउँदा राजेश यादव ५ रनमा अविजित रहे।

गण्डकीका कप्तान विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ५ रन खर्चिए। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey