सन्दीप लामिछानेले विश्वकप ग्लोबल खेल्न पाउने पक्का, पेशी अब असार २९ मा मात्रै  

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०८०-०२-२१
  • |
  • 7171 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने नेपाली टोलीमा आवद्ध हुन दक्षिण अफ्रिका जाने पक्का भएको छ । नेपाल क्रिकेट संघ क्यानको पहल र सन्दीपका कानुन व्यवसायीले काठमाडौं जिल्ला अदालतमा नियमित पेशी सार्न माग गर्दै निवेदन दिएका थिए । सोही निवदेन उपर काठमाडौं जिल्ला अदालतले अर्को पेशी असार २९ गते तोक्ने भनेपछि सन्दीपलाई नेपाली टिमले खेल्ने प्रतियोगितामा सहभागिता जनाउने बाटो खुला गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दाका कारण नेपाली टोलीसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप भोलि (सोमबार राति २ बजे) दक्षिण अफ्रिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उनी कतार एयरवेजमार्फत त्यता प्रस्थान गर्ने छन् ।

अदालतमा सन्दीपविरुद्ध उजुरी दिएकी गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिको पनि निवेदन दिएकाले अदालतका न्यायाधीशरुले क्षतिपुर्तिसम्बन्धी निवेदनको अन्तिम टुंगो लागेपछि मात्रै मुद्दा अघि बढाउने निर्देशन दिएपछि सन्दीपको अन्यौलता बढेको थियो । 

तर, अहिले कानुन व्यवसायी र क्यानको संयुक्त प्रयासमा काठमाडौं जिल्ला अदालतमा निवेदन दिएर सन्दीपलाई दक्षिण अफ्रिका पठाउन लागिएको हो । 

आज आइतबार काठमाडौं जिल्ला अदालतबाट सन्दीपले विदेश जान पाउने अनुमति पाएका छन् । अब उनी नेपाली टोलीसँग दक्षिण अफ्रिकामा अभ्यास खेल पनि खेल्ने र त्यसपछि जिम्बाबेमा आयोजना हुने विश्वकप ग्लोबल क्वालीफायरमा पनि सहभागिता जनाउने छन् ।  अब सन्दीपको मुद्दाको पेशी विश्वकप ग्लोबल क्वालीफायर खेलेर फर्किएपछि मात्रै तोकिने छ । २०-२० दिनमा पेशी तोकिनु पर्ने कानुनी बाध्यताका कारण सन्दीपको यात्रा अनिश्चित बनेको थियो । तर क्यान र सन्दीपका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले निवेदन दिएपछि सन्दीपको पेशी अब ४० दिन पछि असार २९ मा तोकिएको छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अदालतको आदेश अनुसार नै सन्दीपलाई दक्षिण अफ्रिका पठाउन लागिएको पुष्टि गरे । यसअघि सन्दीप विना नेपाली टिम ग्लोबल क्वालीफायरमा अपुरो हुने बताएका अध्यक्ष चन्दले अदालतको निर्णयले नेपाली टिमलाई पनि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । आईसीसी विश्वकप लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन रहेका कारण पनि नेपाली टोलीमा उनको अभाव खड्किएको थियो । सन्दीपको टिममा आगमनसँगै अब विगतको जस्तै प्रदर्शन गर्ने आफूले अपेक्षा लिएको अध्यक्ष चन्दको भनाई छ । नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । 

नेपालले असार ३ गते घरेलुटोली जिम्बाबेसँग खेल्दै ग्लोबल क्वालीफायरमा आफ्नो यात्रा सुरु गर्ने छ । 

नेपालले ५ असारमा अमेरिका, ७ मा वेष्ट इन्डिज र समुहको अन्तिम खेलमा असार ९ मा नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ । उक्त छनोटमा नेपाल शीर्ष तीनमा रहे सुपर सिक्समा पुग्ने छ ।  राउन्ड रोबिनमा शीर्ष २ मा रहने टोलीले फाइनल खेल खेल्नुका साथै विश्वकपका लागि छनोट हुनेछन् । एकदिवशीय विश्वकप भारतमा हुनेछ । 

नेपाल रहेको समूह ‘ए’ मा वेस्ट इन्डिज, जिम्बाबे, नेदरल्याण्ड र अमेरिका रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलंका, ओमान, युएई, स्कटल्याण्ड र आयरल्याण्ड रहेका छन् ।   

The Road to India 2023 via the Cricket World Cup Qualifer

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey