एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी

  • Image नेप्लेज
  • ५ मंसिर २०८३, शनिवार
  • 79 पटक हेरिएको
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिएका छन् ।

मन्त्री पोखरेलका अनुसार फिफा र एएफसी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कुन प्रक्रिया र ढाँचाबाट गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना पठाउनेछ ।

उनले एन्फाको निलम्बन फुकुवाको प्रक्रिया फिफाले नै अघि बढाउने र निर्वाचनको ढाँचाबारे डिसेम्बरसम्ममा स्पष्ट प्रस्ताव आउने बताएका छन् । यद्यपि, निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति बनाएर अघि बढ्ने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको उनले बताए ।

मन्त्री पोखरेलका अनुसार फिफाले यसअघि नेपाली फुटबलमा सरकारको भूमिकालाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको थियो । तर, सरकारले नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए । सरकारले आफ्नो कानुनी दायराभित्र रहेर काम गर्ने र फुटबलको आन्तरिक गतिविधिमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

एसियाली फुटबल महासंघको अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment