काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार (मंसिर १) कतार प्रस्थान गरेको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका हुन् ।
प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।
टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन् ।
प्रतियोगिता यही नोभेम्बर १९ देखि कतारमा आयोजना गरिँदै छ । नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (यूएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका छ ।