आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

  • Image नेप्लेज
  • ३० कार्तिक २०८३, सोमवार
  • 67 पटक हेरिएको
आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

(आइओएफटिसी) २०२६ मा सहभागी हुने नेपालका अफिसियलहरुलाई सोमबार विदाई गरिएको छ । प्रतियोगिता आगामी नोभेम्बर २८ र २९ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुँदैछ ।

आइओएफटिसी नेपालले आयोजना गरेको विदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ र आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले अन्तर्राष्ट्रिय रेफ्री नवीनकुमार श्रेष्ठ र प्रतियोगताका अन्तर्राष्ट्रिय संयोजक गिरिबहादुर सुनारलाई शुभकामनासहित विदाई गर्नुभयो । सो कार्यक्रममा नेपालबाट सहभागी हुने खेलाडी र अफिसियललाई ज्याकेट पनि हस्तान्तरण गरिएको थियो ।

यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कृतन माझी अस्ट्रेलिया पुगिसक्नुभएको छ । प्रतियोगिता संयोजक सुनारले नेपालबाट अन्य खेलाडीको सहभागिता प्रक्रियामा रहेको र विदेशमा रहेका थुप्रै नेपाली तेक्वान्दो खेलाडीले यस प्रतियोगतामा सहभागिता जनाउने जानकारी दिनुभयो । आइओएफटिसी अस्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहनेछ । सन् २००० मा नेपालको काठमाडौंमा ग्रान्डमास्टर दिवाकर महर्जनको पहलमा सुरू भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै आएको छ । सन् २०२६ को प्रतियोगिता यस अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औं संस्करण हो ।

आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । जसले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नाे प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा पाँच संस्करण, भारत, बेलायत, हङकङ, दक्षिण कोरिया र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।