दशौँ राष्ट्रिय खेलकुदका लागि आर्मीको टोली सुर्खेतमा

  • Image नेप्लेज
  • ३० कार्तिक २०८३, सोमवार
  • 35 पटक हेरिएको
दशौँ राष्ट्रिय खेलकुदका लागि आर्मीको टोली सुर्खेतमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबको पुरुष फुटबल टोली सुर्खेत पुगेको छ।

आज सुर्खेत पुगेको टोलीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पवन शाहीसहितले स्वागत गरेका छन्।

टोलीलाई स्वागत गर्दै सदस्य सचिव चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे। उनले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्न प्रोत्साहित गरे।

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिता मंसिर ८ देखि १५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित फुटबल रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुने कार्यक्रम छ।

राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै विभिन्न प्रदेश तथा विभागीय टोलीहरू सुर्खेत आउने क्रम जारी छ। प्रतियोगिताको तयारी तीव्र पारिरहेको कर्णालीमा खेलाडी तथा टोलीहरूको आगमनसँगै दशौँ राष्ट्रिय खेलकुदको रौनकसमेत बढ्दै गएको छ।