जय शाह दोस्रो कार्यकाललाई निर्विरोध निर्वाचित

  • Image नेप्लेज
  • ३० कार्तिक २०८३, सोमवार
  • 51 पटक हेरिएको
जय शाह दोस्रो कार्यकाललाई निर्विरोध निर्वाचित

काठमाडौं । भारतका जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीको बोर्ड बैठकको प्रस्तावपछि यो निर्णय भएको हो ।

क्रिकेटको विश्वव्यापी विस्तार, समर्थकहरूको संख्या वृद्धि तथा व्यावसायिक विकासमा शाहको रणनीतिक योजना रहेको बताएका छन् । शाहकै नेनृत्वमा क्रिकेट सन् २०२८ मा लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदमा पुनरागमन गर्ने तयारीमा छ । शाहकै नेतृत्वमा हालै क्रिकेट प्रतियोगिताहरूको दीर्घकालीन कार्यक्रम विस्तार गरिएको घोषणा गरिएको छ, जसले खेलमा सहभागिता बढाउन र खेलाडी विकासका थप अवसरहरू सिर्जना गर्न मद्दत गर्ने विश्वास लिएको छ ।

बालीमा भएको बोर्ड बैठकले क्रिकेटको आधारशिला थप बलियो बनाउने, महिला क्रिकेटको निरन्तर विकासलाई सहयोग गर्ने, एसोसिएट सदस्य राष्ट्रहरूका लागि अवसर विस्तार गर्ने, अन्तर्राष्ट्रिय क्रिकेटको निष्पक्षता र विश्वसनीयता कायम राख्ने तथा खेलको दीर्घकालीन भविष्यका लागि दिगो व्यावसायिक अवसरहरू विकास गर्ने निर्णय गरेको छ ।

दोस्रो पटक निर्वाचित भएपछि शाहले भने, ‘ममाथि देखाएको विश्वासप्रति अत्यन्त सम्मानित महसुस गरेको छु। निरन्तर विश्वास र समर्थनका लागि हार्दिक आभार व्यक्त गर्दछु। आईसीसीको अध्यक्षका रूपमा सेवा गर्नु मेरो लागि विशेष सम्मान र जिम्मेवारी दुवै हो,’ उनले भनेका छन् ।