आयोजक स्वर्णिम फुटबल क्लबले गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा स्वर्णिमले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो । स्वर्णिमको जितमा सजिना स्याङ्ताङले ह्याट्रिक पूरा गरिन् । उनले खेलको १३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
त्यसपछि ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा गोल थप्दै उनले व्यक्तिगत तीन गोल पूरा गरिन् । त्यस्तै, समीक्षा मगरले खेलको ३७औँ र ८६औँ मिनेटमा दुई गोल गरेपछि आयोजक टोली ५–० को फराकिलो जित निकाल्न सफल भयो ।
खेलको ‘म्यान अफ दी म्याच’ स्वर्णिमकी सजिना स्याङ्ताङ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता मङ्सिर ५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।