काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ ।
लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन्।
हिजो भएको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौंलाई ५५ रनले पराजित गरेपछि प्लेअफको स्थान निर्धारण भएको हो ।
अब क्वालिफायर वानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । इलिमिनेटरमा काठमाडौं गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । क्वालिफायर वान भोलि हुनेछ, इलिमिनेटर पर्सि र बिहीवार क्वालिफायर टु हुनेछ ।
क्वालिफायर वानको पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । ११ अंक जोडेको साविक विजेता लुम्बिनी पहिलो र १० अंक जोडेको साविक उपविजेता सुदूरपश्चिम दोस्रो स्थानमा रहेका छन् ।
हिजो भएको खेलमा पोखराले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९ ओभर ५ बलमा १ सय ६९ रनमा समेटियो । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । हिजै भएको पहिलो खेलमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ ।