काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई जितका लागि २२५ रनको विशाल लक्ष्य दिएको छ ।
यो एनपीएलकाे इतिहासमा कुनै पनि टिमले बनाएको हाफसम्मकै उच्च स्कोर हो।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।
उसका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले।
कुशलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन र युवराजले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेलेका हुन्।
यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए भने ओपनर अर्जुन कुमालले ५ रन बनाए।