युवराजसिंह सामराले काठमाडाैंविरूद्व पनि बनाए अर्धशतक

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 44 पटक हेरिएको
युवराजसिंह सामराले काठमाडाैंविरूद्व पनि बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी काठमाडाैं गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।

क्यानडाका २० वर्षीय बायाँहाते ब्याट्सम्यान सामराले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केवल २६ बलको सामना गरी तीन छक्का र ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

उनले एनपीएलको तेस्रो संस्करणमा दोस्रो अर्धशतक बनाएका हुन् । जारी एनपीएलमा उनले एउटा शतक पनि बनाइसकेका छन् । सामरा जारी एनपीएलमा शतक बनाउने एकमात्र ब्याट्सम्यान पनि हुन् ।

उनले लगातार तीन खेलमा एक शतक र दुई अर्धशतक प्रहार गरेका हुन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा केवल ४८ बलमा एक सय दुई रन बनाएका थिए ।

त्यसलगत्तै विराटनगर किङ्सविरुद्धको खेलमा उनले केवल ४७ बलमा ८४ रन बनाएका थिए । त्यसपछि आइतबार काठमाडाैं गोर्खाजविरुद्धको खेलमा पनि अर्धशतक बनाएका हुन् ।

उनी जारी सिजनको एनपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि पहिलो स्थानमा उक्लिएका छन् ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ