न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो

  • Image नेप्लेज
  • २१ कार्तिक २०८३, शनिवार
  • 50 पटक हेरिएको
न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो

काठमाडौं । भारतले न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा डकवर्थ लुइस नियमका आधारमा ४ रनको जित निकालेको छ । यो जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ ।

१३५ रनको सामान्य लक्ष्य पछ्याएको भारतले खेल रोकिँदा २६ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । भारतलाई जितका लागि २२ रन आवश्यक थियो । तर, वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस नियमका आधारमा भारतलाई ४ रनले विजयी घोषित गरिएको हो ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो । वर्षाका कारण दुवै टोलीका लागि खेल ४७–४७ ओभरमा सीमित गरिएको थियो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४१ ओभरमा १३४ रनमै समेटिएको थियो। तर, सामान्य लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले लगातार विकेट गुमायो ।

भारतका कप्तान शुभमन गिल पहिलो बलमै शून्य रनमा आउट भए भने विराट कोहलीले सात रन मात्रै बनाउन सके। रोहित शर्माले चार चौका प्रहार गरे पनि काइल जेमिसनको बलमा आउट भए । अक्षर पटेल पनि चार रनमा क्याच आउट भएपछि भारत ४७ रनमा चार विकेट गुमाएको अवस्थामा पुगेको थियो। त्यसपछि श्रेयस अय्यर र केएल राहुलले पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, जेमिसनको तीव्र गतिमा आएको छोटो बलमा श्रेयस आउट भए। नमन धीरले दुई चौका प्रहार गरे पनि पुल सट खेल्ने क्रममा क्याच आउट भए। एकपछि अर्को विकेट गुमाउँदै दबाबमा परेको भारतलाई वर्षाले राहत दिएको थियो ।

खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस नियमका आधारमा भारतले जित हासिल गर्‍यो । अब शृङ्खलाको तेस्रो खेल नोभेम्बर १० मा हुने तालिका रहेको छ ।