काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ५० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।
कप्तान रोहित पौडेलले बनाएको ३४ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा अविशेक तिवारीको बलमा ललितको हातबाट क्याच आउट भए। २७ बलमा २ चौका र १ छक्का सहयोगमा २७ रन बनाएका निरोशन डिकवेल्ला विशाल सुस्लिङको बलमा राहुल यादवको हातबाट क्याच आउट भए।
दिलीप नाथ २५ रन बनाउँदा विशालको बलमा नै अनिल शाहको हातबाट क्याच आउट भए। आशिफ शेख २१ रन बनाउँदा हरमित सिंहको बलमा एलबीडब्लु धरापमा परे। डार्सी सर्ट शुन्य रनमा नै पेभेलियन फर्के।
सन्दीप जोराले ९ र समिम होसैनले १ रन थपे। रुवेन ट्रम्पलम्यान १५ रनमा अविजित रहे। जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, अविशेक तिवारी र हरमित सिंहको नाममा समान एक विकेट रह्यो।