सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई दिने

  • Image नेप्लेज
  • १३ कार्तिक २०८३, शुक्रवार
  • 97 पटक हेरिएको
सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्धको खेलमा जित निकालेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले ‘प्लेयर अफ द म्याच’ बापत पाएको पुरस्कार रकम दान गर्ने घोषणा गरेका छन्।

शुक्रबार उनले पुरस्कारस्वरूप पाएको शतप्रतिशत रकम सडकमा रहेका जनावरको हेरचाह र सुरक्षाका लागि काम गर्दै आएकी सिर्जना ठकुरीलाई दिने बताएका हुन्।

कप्तान कामीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत उपलब्धिभन्दा कर्णाली याक्सलाई जित दिलाउन योगदान गर्न पाउनु ठुलो कुरा भएको बताएका छन्। कठिन समयमा आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

‘यो जर्सी लगाएर यस फ्रेन्चाइजका लागि खेल्नु र संघर्ष गर्नु मेरो लागि ठुलो सम्मानको कुरा हो। तर महानता बाँड्दा अझ बढ्छ,’ उनले लेखेका छन्। कामीले पुरस्कारको रकम जनावरको संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन्।

‘हरेक सानो पाइला (वा पन्जा) को महत्त्व हुन्छ,’ उनले लेखेका छन्। बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। विराटनगरले दिएको १८६ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

कर्णालीको जितमा सोमपालले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले बलिङमा ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए भने ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाएका थिए। कर्णालीले ५७ रनमा ५ विकेट गुमाएर कठिन अवस्थामा पुगेका बेला सोमपालले टोलीलाई जितसम्म पुर्‍याएका थिए।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ #टी-ट्वान्टी