अजयेन्द्र शाह र सिमान्त गुरुङको जोडी सेमिफाइनल प्रवेश

  • Image नेप्लेज
  • २७ जेठ २०८३, बुधवार
  • 3496 पटक हेरिएको
अजयेन्द्र शाह र सिमान्त गुरुङको जोडी सेमिफाइनल प्रवेश

काठमाडौं । पाँचौं विष्णु गैरे टेनिस प्रतियोगिता-२०२६ अन्तर्गत बुधबार भएको खेलमा जित निकाल्दै सिमान्त गुरुङ र अजयेन्द्र बी शाहको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मन्डिखाटार टेनिस क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको क्वाटरफाइनल खेलमा सिमान्त र अजयेन्द्रको जोडीले जीवन घिमिरे र बाल कुमार गुरुङको जोडीलाई पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेल सिमान्त र अजयेन्द्रले ६–४, १–६ र (१०–७) को सेटमा आफ्नो पक्षमा पारेका थिए । अब यो जोडीले फाइनल प्रवेशका लागि भीष्म जंग गुरुङ र पासाङ शेर्पाको जोडीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।‌

बुधबारै भएका अन्य खेलहरूमा महेश स्वाँर र किरण नेपालको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जितका साथ सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

महेश र किरणको जोडीले पहिलो खेलमा हेम चन्द्र गुरुङ र ठाकुर खनालको जोडीलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा समीर गुरुङ र गोपाल बी. शाहीको जोडीलाई ६–३, ६–३ को सेटमा पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गर्‍यो ।

अब महेश र किरणको जोडीले विमल कुमार  गुरुङ र पवित्र रायमाझीको जोडीसँग सेमिफाइनल खेल्नेछ । विमल र पवित्रको जोडीले बुधबार भएको खेलमा हिमाल शाह र प्रेम प्रसाद थापाको जोडीलाई ४–६, ६–७ र (१०–५) को संघर्षपूर्ण सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । जुन १४ सम्म चल्ने यस प्रतियोगिताका सेमिफाइनल खेलहरू शुक्रबार हुनेछन् ।

सम्बन्धित खबर