महिला टिमलाई व्यवस्थित गर्दै साफ च्याम्पियन बन्ने लक्ष्य छ : महासचिव राई
-
नेप्लेज
- |
- २०८२-०८-०७
- |
- 4371 पटक हेरिएको
अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राइले नेपाली महिला टिममा प्रतिस्पर्धा तीव्र हुन थालेको बताएका छन् । इन्डोनेशिया र चाइनिज ताइपेईसँग हुने अन्तर्राष्ट्रि प्रतियोगिताका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली महिला फुटबल टिमलाई विदाई गर्दै महासचिव राईले यस्तो बताएका हुन् ।
उनले भने ‘वर्तमान कार्यसमिति आएपछि महिला फुटबललाई एउटा निश्चित संरचना र फ्रेमभित्र ल्याउने कार्य प्रारम्भ गरिएको थियो । पहिले विभागीय टिमहरू मात्र हुँदा प्रतिस्पर्धाको कमी हुने र नकआउट प्रतियोगिताहरू पनि खल्लो हुने अवस्था थियो । विगतमा नगरपालिका वा प्रदेशस्तरका टिम बनाएर प्रतिस्पर्धा गराउने प्रयास गरिए पनि, स्थानीय सरकारको निर्वाचनसँगै टिमको निरन्तरतामा समस्या आउने देखिएपछि अहिले क्लब संरचनामा लाने प्रयास भइरहेको छ, जसमा सफलता नजिक पुगेका पनि छौं ।’
उनले क्लबको क्वालिफाइङ चरण सम्पन्न भइसकेको र अब १० वटा टिमबीचको लिग चरणमा प्रवेश गरिएको जानकारी पनि दिए ।
उनले भने ‘नयाँ संरचनाको परिणाम स्वरूप प्रचुर मात्रामा महिला खेलाडीहरू उत्पादन भएका छन् । पहिले एपीएफसँग अरू क्लबको प्रतिस्पर्धा नै हुन नसक्ने अवस्था रहेकामा अहिले अरू क्लबहरूले पनि विभागीय टिमहरूसँग प्रतिस्पर्धा गर्न थालेका छन्, जसले महिला फुटबल प्रतिस्पर्धात्मक बन्दै गएको संकेत पनि गरेको छ ।’
महासचिव राईले ‘गोल्डन जेनेरेसन’ भनिएको वर्तमान महिला टिमको ब्याकअप कस्तो होला भन्ने चिन्ता रहेकामा भारतमा हालै भएको फ्रेन्डली म्याच र सिक्किमको खेलमा प्रशिक्षकले सेट गरेको टिमको प्रदर्शनले यो शंका हटाएको पनि बताए ।
एन्फाले अब महिला फुटबललाई अझ बढी अन्तर्राष्ट्रिय एक्सपोजर दिई म्याच अनुभवहरू बटुलेर साफ च्याम्पियन बन्ने अन्तिम लक्ष्य राखेको बताए । ‘खेलाडीहरूलाई मानसिक र शारीरिक रूपमा त्यसका लागि तयारी गर्नुपर्छ ।’ महासचिव राईको भनाई छ ।
नवीन न्यौपानेलाई हेड कोच बनाइनुको कारणबारे पनि बताउँदै महासचिव राईले विगतका विभिन्न जिम्मेवारीहरूमा दिएको उत्कृष्ट परिणाम भएको प्रष्ट पारे । संघले न्यौपाने लगायत सम्पूर्ण कोचिङ स्टाफमाथि विश्वास राख्दै आउँदो महिला साफ प्रतियोगितामा सफलता मिल्ने अपेक्षा राखेको छ ।
खेलाडीहरूलाई बाहिरका अनावश्यक टीकाटिप्पणीहरूको जवाफ मुखले होइन, नतिजाले दिनुपर्नेमा पनि महासचिव राइले जोड दिए । इन्डोनेसिया र चाइनिज ताइपेई जस्ता उच्चस्तरका टिमहरूसँग हुन लागेको मैत्रीपूर्ण खेलमा पनि राम्रो प्रदर्शन गरेर नेपाली महिला फुटबलको र समग्र राष्ट्रको गरिमा उच्च राख्ने उनको विश्वास छ ।