डरमाथिको ऐतिहासिक जित !

  • Image नेप्लेज
  • २० श्रावण २०८१, आइतवार
  • 962 पटक हेरिएको
डरमाथिको ऐतिहासिक जित !

सुजन थापा (सुजल) काठमाडौं । अब हरेक नेपालीले मिति २०८१ साउन १९ गते शनिबार कहिल्यै विर्सने छैनन् । नेपाली भलिबल टोलीले जब अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्थ्यो तब एकै प्रश्न उठ्थ्यो- के भारत पर्‍यो भने जित्छ त? उत्तर हुन्थ्यो- जित्दैन। निराशावादी उत्तर आउनु स्वाभाविक नै हुन्थ्यो। किनभने खेल मात्रै होइन, भारत भन्ने मनोविज्ञानले गर्दा नै डर सेट भइसकेको थियो। त्यसैले २०४३ सालदेखि सुरु भएको नेपाली महिला भलिबलको इतिहासमा भारतसँग जितको स्वाद चाख्न पाएको कुनै रेकर्ड थिएन, इतिहास पनि थिएन। तर, अहिले त्यो इतिहास फेरिएको छ। त्यो पनि घरेलु कोर्टमा। यसको साक्षी बसेका छन् घरेलु समर्थक।

शनिबार हजारौँ घरेलु समर्थकमाझलाई साक्षी राख्दै नेपालले भारतलाई पहिलोपल्ट हराएको हो। काभा महिला नेसन्स लिगमा तेस्रो पटक उपाधि जित्ने योजनासहित कोर्ट उत्रिएको नेपालका लागि भारतविरुद्धको जित त्यति सहज भने थिएन।

त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा दुई पटकको पूर्वविजेता नेपालले भारतलाई हराउन पाँच सेटसम्म संघर्ष गर्नु पर्‍यो। जबकि नेपालले पहिलो सेटमा सुरुआती समयबाटै अंक जोडेको थियो। पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। जसमा नेपाल २५–१८ ले विजयी भयो। तर, दोस्रो सेटमा सोही लय दोहोर्‍याउन भने सकेन। सुरुआत समयदेखि नै दबाब बनाएको भारतले १२–२५ ले सहजै जित्यो। 

दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेटमा २५–१७ ले जित्न सफल भयो। जब नेपाल २–१ ले अघि बढ्दै खेल चौथो सेटमा जित निकाल्ने लक्ष्यसहित कोर्टमा प्रवेश गरेको टिम निकै कमजोर प्रदर्शन गर्दै १८–२५ ले नतिजा भारतलाई सुम्पिन बाध्य भयो। त्यसपछि खेलको निर्णय पाँचौं सेटमा गएर हुने भयो। जहाँ नेपालले १५–१३ को जित निकालेको थियो। यो जितसँगै पाँच वर्षअघि अर्थात् (२०१८) भारतसँग पराजित हुँदै सागमा स्वर्ण पदक जित्नबाट वञ्चित भएको पीडाको मलहम बन्न पुग्यो। १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपाल भारतसँग पाँच सेटसम्म संघर्षका बाबजुद पराजित भएको थियो।

कप्तान अरूणा शाही भन्छिन्, ‘भारतसँग हामी सधै हार्छौं भन्ने डर बोकेर कोर्टमा छिरेको भान हुन्थ्यो। तर, यो जितपछि केही सोच्न सकिनँ। हामी भारतसँग खेल्दैछौं है भन्ने डरबाट सुरुआत गरेको खेल आज जित्दा छुट्टै आभास र भावुक भएँ।’ नेपालको लागि प्रतिद्वन्द्वी भारतमाथिको जितले निकै ठूलो अर्थ राख्ने गर्छ। 

नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। लगातार घरेलु प्रतियोगितामा व्यस्त महिला टोलीले अन्तर्राष्ट्रियस्तरमा लगातार प्रभावशाली प्रदर्शन गरे पनि भारतसँग भने निरीह नतिजाको सामना गर्न परिरहेको थियो। यो जितले अब नेपाललाई आगामी दिनमा हुने प्रतियोगितामा भारत भन्ने डरसँग लड्न सिकाउने छ। यसले नेपालको भलिबललाई अर्को उचाइमा पुर्‍याउने छ। मुख्य प्रशिक्षक जगदीश भट्ट भन्छन्,‘भारतको भलिबल हामीभन्दा धेरै माथि छ। पहिला हामी भारत भन्दा अलिकति डराउँदै खेल्थ्यौं। तर, पछिल्लो समय जित्छौँ भन्ने मानसिकताका साथ अघि बढेका थियौँ। दुई महिनामा खेलाडीले जसरी हौसला बढाए र भारतलाई जिते इतिहास बन्छ भनेर खेलेका थियौं। त्यो सफल भएको छ। यसले भलिबललाई प्राथमिकतामा राख्नुपर्छ भन्ने दबाब सरकारलाई पर्ने नै छ।’

जारी प्रतियोगितामा भारतलाई पराजित गरेसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले यसअघि बिहीबार उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हासिल गरेको थियो। पाँच टोली सहभागी प्रतियोगितामा जितसँगै नेपालले दुई खेलमा पाँच अंक जोडेको छ। पहिलो पराजय बेहोरेको भारत तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा छ।

नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएका प्रतियोगिताका पहिलो दुई संस्करणमा लगातार स्वर्ण पदक जितेको थियो। गत वर्ष प्रतियोगिताको तेस्रो संस्करण काठमाडौंमै आयोजना हुँदा भने नेपालले कांस्य पदकमा चित्त बुझायो। जारी प्रतियोगितामा लगातार दुई खेलमा जित हासिल गरेपछि नेपाली टोलीका खेलाडी तथा प्रशिक्षक यही लयलाई निरन्तरता दिँदै उपाधि जित्नेमा विश्वस्त छन्।