राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि

-
नेप्लेज
- |
- २०८१-०२-२७
- |
- 623 पटक हेरिएको
राष्ट्रिय उसु हुने नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
थाउलो र सान्डामा गरी जम्मा २७ स्पर्धामा खेल हुनेछ । मोफसलबाट सहभागी भइ पदक जित्ने खेलाडीलाई बसोवास, खाना र आते–जाते खर्च आयोजकले उपलब्ध गराउने बताइएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका उसु महासंघका अध्यक्ष जनक बर्तौलाको संयोजकत्वमा ५ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ ।
कमिटीका सदस्यहरुमा उसु महासंघका उप–महासचिव महर्जनसहित सचिव नवीन बस्नेत, सदस्यद्वय शुभराम मुनाकर्मी र निराजन आले मगर रहेका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।