रियलमा पूरा भएको जोसेलुको सपना

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२८
  • |
  • 2110 पटक हेरिएको

काठमाडौँ । दुई वर्षअघि रियल मड्रिडले स्टेड डी फ्रान्सको मैदानमा १४औँ पटक च्यापियन्स लिगको उपाधि उचाल्दा आरसीडी एस्पेनयलका फरवार्ड माटो जोसेलु टेलिभिजन ‘स्क्रिन’मा उक्त खेल हेरिरहेका थिए।

त्यतिखेर उनको मनमा एकै कुरा खेल्दै थियो– म पनि रियलमा हुन पाएको भए ! सायद भाग्य उनको साथमा थियो। त्यसैले एकै सिजनका ३४ खेलमा १६ गोल गरेका उनी अर्को सिजन रियलमा लोनमा भित्रिए।

बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २–१ गोलअन्तरले पराजित गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा पुग्दा उनै जोसेलु निर्णायक बने।

खेलको ६८औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गर्दै पाहुना टोली बायर्नलाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता बायर्नले अन्तिम २ मिनेटमा जोगाउन सकेन। ८८औँ मिनेटमा जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ३ मिनेटपछि नै एन्टोनियो रुडिगरको पासमा उनले नै दोस्रो गोल गर्दै रियललाई २-१ को पुनरागमन जित दिलाए।

३४ वर्षीय जोसेलुले खेलपछि भने,‘म प्राप्त अवसरलाई सदुपयोग गर्ने कोसिस गर्छु। दुई वर्ष पहिलेसम्म रियलको समर्थक थिएँ। अहिले म रियलमा छु। कस्तो महसुस गरिरहेको छु त्यो शब्दमा बर्णन गर्न सक्दिनँ। मैले रियलबाट खेल्ने मौका पाएको छु। बस् गर्व गर्छु।’

सन् २०२२ को च्याम्पियन्स लिगमा करिम बेन्जेमा र रोड्रिगोले उत्कृष्ट प्रदर्शन गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी), चेल्सी र म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियललाई उपाधि दिलाएका थिए।

यसपटक बेन्जेमा साउदी क्लबमा पुग्दा उनको स्थान लिने मौका जोसेलुले पाए। बुधबारको खेलमा उनले उक्त मौकालाई सदुपयोग गरे र जर्मन क्लब बायर्नविरुद्ध गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याए।

‘यस्तो रात बिताउन पाउनु सपना पूरा हुनु जस्तै हो । मेरा सपनाहरू जे थियो त्यो सुन्दर थिए। एक फरवार्डको रूपमा गोल गर्ने सपना म देखिरहेको हुन्थे। त्यो पूरा हुँदा एकदमै राम्रो लागिरहेको छ,’ उनले सुनाए।

गत समरमा जोसेलुको रियलमा आगमन असामान्य थिएन। स्पेनिस ‘पावर हाउस’ले क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जेमाजस्ता ठूला स्टार गुमाएको थियो। उनीहरूको स्थान परिपूर्ति गर्न रियलले जुड बेलिंघम, रोड्रिगो, भिनिसियस जुनिअर र एडुआर्डो क्यामाभिंगाजस्ता युवा खेलाडी भित्र्यायो। त्यसैमा उमेर ढल्किसकेका ३४ वर्षीय जोसेलु पनि समावेश भए।

जोसेलु त्यसअघि सानो क्लबमा खेलिरहेका थिए। उनको क्यारिअर ठिकठाक चलिरहेको थियो। त्यतिखेर उनको मुख्य उद्देश्य क्लबलाई रेलिगेशनबाट बचाउनु हुन्थ्यो।

जर्मनीको स्टुटगार्टमा जन्मेका जोसेलु बाल्यकालमै परिवारसहित स्पेन बसाइसराइ गरेका हुन्। सेल्टा भिगोमा आफ्नो क्यारिअर शुरू गरेका उनलाई रियलले सन् २००९ मा ‘बी’ टोलीमा भित्र्याएको थियो। तीन सिजन रियलबाट खेलेका उनी त्यसपछि जर्मन क्लब फ्यांकफुर्ट, होफेनहाइम, हनोभर, इङ्ल्यान्डका क्लब स्टोक र न्यूक्यासलमा आबद्ध भएर खेले।

तर, उनी गुमनाम रहे। सन् २०१९ मा स्पेनिस लिगमा फर्किएपछि उनी एकाएक चर्चाको शिखरमा पुगे। अलाभेसमा रहँदा तीन सिजनमा उनले डबल अंकमा गोल गरे। त्यसपछि उनी एक सिजनका लागि एस्पान्योलमा आबद्ध भए। त्यतिखेर उनी ३२ वर्षको उमेरमा पुगिसकेका थिए। त्यही बेला उनले स्पेनको राष्ट्रिय टोलीबाट डेब्यू गर्ने अवसर प्राप्त गरे।

आफू उत्कृष्ट लयमा रहे पनि अलाभेस र एस्पान्योललाई उनले रेलिगेशन हुनबाट जोगाउन भने सकेन। र, त्यही बेला रियलले उनलाई बार्सिलोनाको क्लबबाट एक सिजनका लागि लोनमा भित्र्यायो।

जोसेलुमा गोल गर्ने, ‘वान टच’ र हेडर, ड्रिबल र बल पास गर्नसक्ने क्षमता रियलले देखेको हुनुपर्छ। त्यही भएर होला उनलाई करिअरको उत्तरार्ध  रियलले भित्र्याएको हुनुपर्छ।

तर, जोसेलु बेन्चबाट सीमित खेलमा मैदान उत्रिने मौका पाएका छन्। बुधबार पनि उनी ८१औँ मिनेटमा फेडेरिको भल्भर्डेको स्थानमा मैदान प्रवेश गरेका थिए। मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले अन्तिम अन्तिम समयमा उनलाई बक्समा बल ‘टच’ गर्न, क्रस गर्न र कर्नरमा आएको बललाई गोलमा परिणत गर्न सक्ने आशामा मैदान पठाएका थिए।

भयो पनि त्यस्तै। भिनिसियसले प्रहार गरेको बल गोलरक्षक म्यानुएल नुएरले रोक्न सकेनन्। ‘रिबाउन्ड’मा आएको त्यही बललाई जोसेलुले गोलमा परिणत गरे। ‘स्ट्राइकर जहिले पनि बक्सभित्र चनाखो हुनुपर्छ। बल बाउन्स भएर आइरहेको देखेँ र मैले त्यसलाई कनेक्ट गर्दै गोलमा परिणत गरेँ,’ उनले भने। जोसेलुले सीमित मिनेटमा मैदान प्रवेश गर्दै सबै प्रतियोगितामा रियलका लागि १७ गोल गरेका छन्। सायद कार्लो उनीबाट धेरै खुसी छन्।

रियलको यात्रा


रियलले सन् १९५६ मा च्याम्पियन्स लिगमा डेब्यू गरेको थियो। डेब्यू गरेका वर्ष नै रियलले उपाधि उचाल्यो। त्यसपछि लगातार चार पटक (१९५७, १९५८, १९५९ र १९६०) रियलले उपाधि जित्यो। सन् १९६६, १९९८, २०००, २००२ मा पनि रियलले लगातार चार पटक उपाधि उचाल्यो। तर, त्यसपछिका १२ वर्षपछि रियल च्याम्पियन्स लिग उपाधिविहीन भयो। सन् २०१४ मा च्याम्पियन्स लिग जितेको रियलले २०१६, २०१७ र २०१८ मा गरी उपाधिमा ह्याट्रिक गर्‍यो। पछिलोपटक सन् २०२२ मा च्याम्पिय बनेको रियलले २०२४ मा पनि फाइनल खेल्दै छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey