सहिद कप क्रिकेट:  गण्डकीलाई हराएर सुदूरपश्चिम उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२७
  • |
  • 686 पटक हेरिएको

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी  सहिद कप  अन्तर प्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश  उपाधि नजिक पुगेको छ। आज सम्पन्न सेमिफाइनलमा गण्डकी प्रदेशलाई १३ रनले स्तब्ध पार्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो। 

सुदूरपश्चिमले दिएको १२७ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्रै बनाउन सक्यो। उसका समीर कँडेलले १८, कप्तान विपिन खत्रीले १६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

सुदूरपश्चिमका लागि विकास आग्रीले कसिलो बलिङ गर्दै ३,नरेन साउँदले २ विकेट हात पारे।

त्यसअघि राम जानकी मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन बनायो। जसमा कप्तान  वसन्त खत्रीले सर्वाधिक ३० रन बनाए। उनी खेलका म्यान अफ द म्याच पनि भए। यस्तै किरण ठगुन्नाले २८ र दीपक बोहराले २६ रनकाे योगदान गरे। गण्डकीका कमल परियारले २ विकेट झारे। 

उपाधिका लागि अब सुदूरपश्चिमले जनकपुर-११ को सामना गर्नेछ।  फाइनल भिडन्त भोलि हुने सुदूरपश्चिम प्रदेशका टिम व्यवस्थापक रमेश बहादुर बोहराले जानकारी दिनुभयो।

लिग चरणबाटै अपराजित रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने सुदूरपश्चिमका प्रशिक्षक खेमराज भट्टले बताए। 

बलिङ,ब्याटिङ र फिल्डिङ सबै पक्ष मजबुत रहेकोले उपाधि रक्षा गर्ने लक्ष्य रहेको सुदूरपश्चिमका कप्तान वसन्त खत्रीले बताए । 

 वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तर प्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको छ। 

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना, सहिद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को सहकार्यमा सञ्चालन रहेको प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठ वटा टिमको सहभागिता रहको छ।  

प्रतियोगिताको विजेता टिमलाई दुई लाख एघार हजार नगद र ट्रफि र उपविजेता टिमलाई एक लाख एक हजार नगद र ट्रफि पाउनेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey