काठमाडौं महानगर र मध्यपुर थिमि गोदावरीमा मेयर कपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 330 पटक हेरिएको

ललितपुर- काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।

शनिबार गोदावरी बहुउद्देश्यीय रङ्गशालाको  झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५-४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारको टिकट काटेको हो । 

मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले एक-एक गोल गरे । 

खेलको चौथो र ५४ औँ मिनेटमा गोल गरेका दिपक खेलको म्यान अफ दि म्याच भए । उनलाई फिफा रेफ्रि नवीन्द्र मर्हजनले आयोजकका तर्फबाट ५ हजार नगद र ट्रफि हस्तान्तरण गरे । 

प्रतियोगिता आफ्नो ब्यक्तिगत गोल संख्या ४ पुर्‍याएका मध्यपुरका रोहनले खेलको ५८ औँ मिनेटमा गोल गर्दा कप्तान यमनले ६० औँ मिनेटमा गोल गरेका थिए । 

खेलको ४१ औँ मिनेटमा मध्यपुरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिमा सुर्दशनले गोल गरेका थिए । 

राम्रो खेल्दा खेल्दै पनि पराजित भएको कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरे । उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो ।  

यसअघि उनले तारकेश्वर नगरपालिका विरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए । 

यमनले खेलको ४३ औँ, ६६ औँ र ८२ औँ मिनेटमा गोल गरे । शनिबारको खेलमा कीर्तिपुरका लागि अर्को एक गोल सन्जोग महर्जनले खेलको ८१ औँ मिनेटमा गरे ।

खेलको ६० मिनेटसम्म ४-१ को अग्रता लिएको मध्यपुरलाई त्यसपछि एकपछि अर्को गोल गर्दै ८२ मिनेटमा पुग्दा स्कोर अन्तर कीर्तिपुरले ५-४ मा घटाएको थियो ।खेलको उत्तरार्दमा कीर्तिपुरले मध्यपुरलाई निकै दबाबमा राखेको थियो ।

शनिबार नै भएको अन्तिम क्बार्टरफाईनल खेलमा आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २-१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

काठमाडौंका लागि दुबै गोल राज पौडेलले गरे । खेलको २० औं र ६५ औं मिनेटमा गोल गरेका राज खेलको म्यान अफ दि म्याच भए । उनलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले ५ हजार नगदको चेक र ट्रफि हस्तान्तरण गरे । 

पराजित गोदावरीका लागि खेलको ९० औँ मिनेटमा राजन मर्हजनले एक गोल फर्काए । 

दोस्रो हाफको अन्त्यतीर गोदावरीले काठमाडौंलाई केही दबाबमा राखेपनि अन्ततः थप गोल हुन नसकेपछि आयोजकको दोस्रो टिम पनि बाहिरिएको छ । 

यसअघि गोदावरी टिम ए महालक्ष्मी नगरपालिकासँग पहिलो खेलमै पराजित भएको थियो । 

मंगलबार सेमिफाइनलका दुबै खेल 

शनिबार क्बार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । 

आगामी बैशाख २५ गते मंगलबार दिउँसो साढे १२ बजे काठमाडौं महानगर र मध्यपुर थिमिबीच पहिलो सेमिफाइनल हुनेछ । 

यसैगरी दिउँसो साढे ३ बजे चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल हुनेछ । 

दक्षिणकाली नगरपालिकालाई २-० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो । 

चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४-० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो ।  

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey