जंगेको ह्याट्रिकमा चौतारा स्पोर्टिङ सेमिफाइनलमा प्रवेश
- नेप्लेज
- |
- २०८१-०१-१६
- |
- 472 पटक हेरिएको
लामोसाँघु । विशालजंग रायमाझी (जंगे)को ह्याट्रिकसँगै चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा आइतबार सम्पन्न दिनको दोस्रो खेलमा न्यू जेनेरेसन क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै चौतारा अन्तिम चारमा पुगेको हो। चौताराको जितमा जंगेले ह्याट्रिक गरे। भीमबहादुर गुरुङ र टिकाराम लोप्चनको नाममा १/१ गोल रह्यो। खेलको छैटौँ मिनेटमा नै जंगेको गोलमार्फत चौताराले शुरूआती अग्रता बनाएको थियो। २१औँ मिनेटमा उनले नै दोस्रो गोल गरे।
६२औँ मिनेटमा भीमले गोल गर्दै चौतारालाई ३-० को अग्रता दिलाए। त्यसको ३ मिनेटपछि नै टिकारामले गोल गर्दै चौताराको अग्रता ४-० मा पुर्याए।
दोस्रो हाफको इन्ज्युरी समयमा पुन: गोल गर्दै जंगेले ह्याट्रिक पूरा गर्दा चौतारा ५-० ले विजयी भयो। जितसँगै समूह ‘ए’ मा रहेको चौताराले २ खेलबाट ६ अंक जोड्यो।
पहिलो खेलमा पहिलो खेलमा चौताराले साँगाचोक यूथ क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो।