देवको अलराउन्ड प्रदर्शन, लुम्बिनीको दोस्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 269 पटक हेरिएको

काठमाडौँ। कप्तान देव खनालको अलराउन्ड प्रदर्शनप्रेरित लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ।

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। पहिलो खेलमा गण्डकीलाई ७ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा मधेशसँग २७ रनले पराजित भएको थियो।

दोस्रो जितसँगै शीर्ष स्थानमा रहेको लुम्बिनीले ३ खेलबाट ४ अंक जोडेको छ। कर्णालीको यो पहिलो खेल हो।

बिहीबार कर्णालीले दिएको ८२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १२.२ ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनायो।

लुम्बिनीका कप्तान देव खनालले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए। २९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे।

मृणाल गुरुङ १३ रनमा आउट हुँदा विराट भण्डारी १० रनमा अविजित रहे। कर्णालीका दिवश पुनले २ विकेट लिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले १६.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनायो। 

कर्णालीका अर्जुन घर्तीले सर्वाधिक २८ रन बनाए। २१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। कप्तान दिवश पुन १२ र दीपेन्द्र रावत ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

लुम्बिनीका देव खनाल, अभिषेक गौतम र वीर घर्तीले २/२ विकेट लिए। निर्मल गुरुङ, कृष्ण कार्की र नीर सार्कीको नाममा १/१ विकेट रह्यो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey