नेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौता
- नेप्लेज
- |
- २०८०-१२-१५
- |
- 723 पटक हेरिएको
नेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौता
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल भलिबल संघले केल्मीसँग नयाँ सम्झौता गरेको हो ।
नेपाल भलिब संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे । यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आएपनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग नयाँ सम्भौता गरिएको संघका अध्यक्ष चन्दले बताए ।
अध्यक्ष चन्दका अनुसार भलिबल संघले केल्मीसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको हो । सम्झौता अनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउने छ ।
केल्मीले तीन वर्षमा करिब १ करोड रुपैयाँ बराबरको खेल सामाग्री भलिबल संघलाई उपलब्ध गराउने छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल गामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दे केल्मीलाई धन्यवाद दिए ।
केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
यस्तै केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी १०-२० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे ।
नेपाली खेलकुदमा भलिबलको लोकप्रियता बढ्दै गएको र राष्ट्रिय खेल पनि भएकाले आफूहरुले भलिबल संघसँग सहकार्य गरेको केल्मी नेपालका म्यानेजिङ डाइरेक्टर उत्तम न्यौपानेले बताए ।
सम्झौतापछि केल्मीले १ सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्ने अध्यक्ष चन्दले बताए । उक्त खेल सामाग्री नेपालको भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने चन्दले जानकारी दिए ।