मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१९
  • |
  • 584 पटक हेरिएको

रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जितेका छन् । उनले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गरे ।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुङ्गिएको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो । 

प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ रहे । उनले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गरे । उनलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो । 

जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका थिए । उनले  २५ हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरे । 

त्रिभुवन आर्मीका टङ्क कार्की चौथो र सुवास कार्की पाँचौँ भएका थिए । उनीहरूले क्रमशः १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे । छैटौँदेखि १०औँ स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर रहे । उनीहरूले जनही  तीन हजार प्राप्त गरे ।

महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम भइन् । उनले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गरिन् । उनलाई  २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो हुनुभएका त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । उहाँले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

सशस्त्रकी आशा राउत तेस्रो भइन् । उनले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गर्दै पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरिन् । 

सशस्त्रकै सीमा चौधरी चौथो भइन् । उनले तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्दा पाँचौँ स्थानमा रहेकी स्मिता बुढाले दुई हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहेका क्रमशः अस्मिता भुजेल, नम्रता गुरुङ, वर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । 

खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुई हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो । उनीहरुलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गरे । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ  राखेका थिए । 

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गरेकी थिइन् ।

प्रतियोगितामा सात सय ६५ धावकले सहभागिता जनाएका थिए । जसमध्ये खुलातर्फ चार सय ९४ जनाको सहभागिता थियो । महिलातर्फ दुई सय ७१ जनाले सहभागिता जनाए । जसमध्ये खुलातर्फ ६८  र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागिता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey