राखेपको बोर्ड बैठक : कर्मचारीलाई स्थायी, एसियन गेम्समा २८ खेलमा सहभागीता 

Kelmi
  • नेप्लेज
  • |
  • २०८०-०२-०७
  • |
  • 224 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपका अस्थायी तथा करार कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढ्ने भएको छ ।

युवा तथा खेलकुदमन्त्रालयमा आज बसेको राखेपको बोर्ड बैठकले प्रक्रिया पूरा गरेर कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

अहिले राखेप मातहतमा रहेका ३७८ कर्मचारीहरु रहेका छन् ।

उनीहरुलाई स्थायी गर्नका लागि एउटा कार्यदल गठन गर्ने र त्यसका आधारमा स्थायी प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।

यसैगरी आसन्न एसियन गेम्समा नेपालले २८ वटा खेलमा सहभागीता जनाउने निर्णय पनि गरेको छ ।

युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू आए पछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो ।

****

प्रेस विज्ञप्ती
आज मिति २०८० साल जेठ ७ गतेका दिन मा. युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष डिगबहादुर लिम्बुज्यूको अध्यक्षता सम्पन्न भएका परिषद्को ११६ औं बोर्ड बैठकबाट तपसिलमा रहेका एजेण्डाहरुमा बृहत्त ढंगबाट छलफल भई निम्नानुसार निर्णय भएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
तपसिल :
१. एशियाली खेलकुद तयारी एवं सहभागिताका लागि आवश्यक वजेट सम्बन्धमा छलफल हुँदा १९ औं एशियाली खेलकुदका लागि प्रस्तावित खेलहरु तथा कार्यक्रम र बजेटका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत सम्बन्धित निकायमा समन्वय गरी अगाडी बढ्ने निर्णय गरियो ।

२. एसियाली खेलकुदको समग्र तयारीलाई जोड दिँदै सञ्चालन भइरहेको तालिमलाई चरणबद्ध रूपले विशेष र बन्द प्रशिक्षण सञ्चालन गर्नुका साथै हाल भइरहेको प्रशिक्षणलाई तीन भागमा प्रशिक्षण पूरा भएपछि बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

३. पदकको उच्च सम्भावना भएको खेललाई वैदेशिक प्रशिक्षणको व्यवस्था गर्ने, २८ खेलको दुई सयभन्दा बढी खेलाडी सहभागी हुने गरी तयारी गर्ने तथा तयारी (विशेष, बन्द र वैदेशिक प्रशिक्षण) तथा सहभागिताका लागि परिषद्ले सम्बन्धित सरोकालवालासंग छलफल गरी तयार गरेको अनुमानित २९ करोड रुपैयाँ बजेट युवा तथा खेलकुद मन्त्रालय मार्फत परिषद्ले सिफासिर गर्ने निर्णय भएको छ ।
साथै खर्चको नम्ससमेत तयार गरिएको छ । एसियाली खेलकुद नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गर्ने खेलकुदमध्ये सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धा रहेकाले सोही अनुसार बजेटको व्यवस्थाका लागि नेपाल सरकारलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत बजेट उपलब्धका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

२. राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा सम्बन्धमा ।

(क) राष्ट्रिय खेलकुद परिषद्को पदपूर्ति समितिको पूर्णता सम्बन्धमा आवश्यक छलफल हुँदा पदपूर्ति समितिमा दुई जना विशेषज्ञका रुपमा क्रमशः चन्द्रकान्त पण्डित र बिजेन्द्र हमाललाई मनोनयन गर्ने निर्णय गरियो ।

(ख) परिषद्को संगठन संरचना (ओ एन्ड एम सर्भे) तथा विनियमावलीका लागि परिषद्का उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल  गठन गर्ने र उक्त कार्यदलले बैठक सम्पन्न भएको मितिले ४५ दिन भित्र अनिवार्य प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्ने समेत निर्णय गरियो ।

३. विविध

(क) परिषद् तथा परिषद् अन्तर्गतका क्षेत्रीय तथा जिल्ला खेलकुद बिकास समितिमा कार्यरत कर्मचारी हरुलाई राष्ट्रिय खेलकुद बिकास नियमावली, २०७९ को परिच्छेद ८ को नियम २४ को उपनियम (७) बमोजिम प्रदेश तथा जिल्ला खेलकुद बिकास समितिहरुमा कामकाज गर्न खटाउने सम्बन्धमा छलफल हुँदा सम्पत्ती, दायित्व र कर्मचारीहरु संघीय संरचना बमोजिम परिचालन गर्ने निर्णय गरियो । अर्को ब्यवस्था नभएसम्मका लागि कर्मचारी कामकाज गर्न खटाउने अधिकार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५२ बमोजिम परिषद्का सदस्य–सचिवलाई प्रदान गर्ने निर्णय गरियो ।

भर्खरै

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal