नवौँ राष्ट्रिय खेलकुद: सुदूरलाई कुस्तीमा महिला खेलाडीको बढी आशा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०७
  • |
  • 477 पटक हेरिएको

कञ्चनपुरको महेन्द्रनगरमा जारी नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमस्तरीय प्रदेश छनोट कुस्ती प्रतियोगिता सकिएको छ।  

पछिल्लो समय कुस्ती खेलमा राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा समेत पदकमय बनेको सुदूरपश्चिमले यसपटक नवौँका लागि महिलातर्फ भने अनुभवी खेलाडी छनोटमा परेका छन्।

तेह्रौँ सागका नेपालका लागि कुस्तीको इतिहासमा पहिलो पटक स्वर्ण दिलाउने महिला खेलाडी सङ्गीता धामीदेखि कुस्तीमै बढी ध्यान केन्द्रित गरेका महिला खेलाडी सुदूरपश्चिमबाट छनोट भएका छन्।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ मात्रै ६ स्वर्ण जितेको सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ। 

सम्पन्न २० स्वर्णका लागि भएको प्रदेशस्तरीय छनोटमा कञ्चनपुरले पुरुष र महिलातर्फ गरी १५ स्वर्ण जितेको कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो।

 कञ्चनपुरले १५ स्वर्ण, दुई रजत र एक काष्य जित्दा दार्चुलाले चार स्वर्ण र दुई काष्य जितेको छ। कैलालीले एक स्वर्ण र तीन रजत जितेको प्रशिक्षक चन्दले बताउनुभयो।

“खेलाडीले विभिन्न क्षेत्रबाट प्रदेशमा प्रतिनिधित्व गर्दै आए पनि सबै कञ्चनपुरकै उत्पादन हुन्”, उहाँले भन्नुभयो, “नवौँमा स्वर्ण आशा गरिएकामध्येको कुस्ती खेल पनि हो।”

उहाँले नवौँमा यहाँबाट सहभागी महिला खेलाडीबाट पदकको बढी आशा र सम्भावना रहेको बताउनुभयो।

“विगतको रेकर्ड, अनुभव र सङ्घर्ष हेर्ने हो भने महिलाले बढी पदक ल्याउनेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “यसपटक राष्ट्रियमा सहभागी हुने धेरै नयाँ अनुहार पनि छन्।”

 सुदूरपश्चिमबाट नवौँ राष्ट्रियका लागि दमन्ती बोहरा, मनिषा सिंह, संगीता धामी, भावना जाग्री, कोमल खत्री र कलावती भट्ट छनोट भएका छन्।

त्यसैगरी आठौँमा स्वर्णपदक विजेता विमला सुनार पनि प्रदेशबाट छनोट भएकी छन्। 

यहाँबाट कृष्टि बम, हेमा भट्ट र माया भट्ट छनोट भएको प्रशिक्षक चन्दले बताउनुभयो।

महिलातर्फ संगीता धामी, मनिषा सिंह, कोमल खत्री र विमला जाग्री राष्ट्रियस्तरमै परिचित खेलाडी हुन्।

त्यसैगरी पुरुषतर्फ सुनिल चुनारा, भुवन चन्द, सङ्गीत चन्द, निरज भण्डारी, पवनसिंह धामी छनोट भएका छन्। 

 त्यसैगरी विकास चन्द, कृष्णसिंह धामी, रोशन चन्द र विनोद रैकाल छनोट भएको चन्दको भनाइ छ।

प्रदेशस्तरबाट यहाँ खेलाडी छनोट भए पनि बन्द प्रशिक्षणमा राख्ने विषय भने टुङ्गो लागिसकेको छैन।

    “बन्द प्रशिक्षण नभए पनि हामी नियमित प्रशिक्षण यहाँ गराइरहेकै छौँ”, चन्दले भन्नुभयो, “विगतमा सुदूरपश्चिमलाई स्वर्ण दिलाउने धेरै खेलाडी यसपटक भने विभागीय टिमको प्रतिनिधत्व गर्दैछन्।”

    राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै सुदूरपश्चिमका कुस्ती खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको भए पनि खेलाडीको प्रशिक्षणका लागि भने यहाँ हल छैन। रासस


#acsc

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal