लिग टूमा स्कटल्याण्डसँग अमेरिका ५ विकेटले पराजित 

  • Image नेप्लेज
  • २८ श्रावण २०७९, शनिवार
  • 761 पटक हेरिएको
लिग टूमा स्कटल्याण्डसँग अमेरिका ५ विकेटले पराजित 

आईसीसी विश्वकप लिग टू क्रिकेट सिरिज अन्तर्गत स्कटल्याण्डले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।  अमेरिकाले दिएको २९६ रनको लक्ष्य स्कटल्याण्डले ४७.४ओभरमा मात्रै ५ विकेट गुमाएर पूरा गरेको हो ।

स्कटल्याण्डको जीतमा कलुम म्याकलोडले शतकीय पारि खेले । पहिलो विकेटका लागि केइल कोइट्जर र केरिग वालेसले ७२ रनको साझेदारी गर्दै टिमलाई अघि बढाएका थिए । वालेस व्यक्तिगत ४५ रन बनाएर आउट हुँदा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि कोइट्जर पनि व्यक्तिगत २८ रनमा आउट हुँदा स्कटल्याण्डले ७७ रनमा दुई विकेट गुमाएको थियो । मिचेल जोनसन पनि धेरै बेर भने टिक्न सकेनन् । उनी जम्मा १८ रन बनाएर आउट भएका थिए ।

त्यसपछि म्याकलोड र म्याथ्यू क्रसले सम्हालिएर प्रदर्शन गर्दै टिमलाई जितको आधार खडा गरेका थिए । ८४ बलमा शतक बनाएका म्याकलोड ९१ बल खेल्दै ११७ रनका साथ आउट भएका थिए ।

उनले ५ छक्का र ९ चौका प्रहार गरे । यस्तै क्रस भने ४० रनमा आउट भएका थिए । त्यसपछि क्रिस ग्रेभ्स र मिलेल लिस्कले नटआउट १९–१९ रनको पारि खेल्दै स्कटल्याण्डलाई जित दिलाए । अमेरिकाका नोस्टुङ केन्जीले दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९५ रन बनाएको थियो । अमेरिकाका आरोन जोन्सले १२३ रनको नटआउट शतकीय पारिख खेलेका थिए । यसैगरी सुशान्त मोदनीले ५२ रन बनाउँदा स्टेभन टेलरले ३७ रन जोडे । स्कटल्याण्डका गेभिन मेन र मार्क वाटले समान २–२ विकेट लिए ।

जीतसँगै स्कटल्याण्ड २६ खेलबाट ३८ अंकका साथ दोस्रो स्थानमा छ भने पराजित भएको अमेरिकाले २६ खेलबाट २५ अंक बनाउँदै आफूलाई चौथो स्थानमा राखेको छ । आईसीसी विश्वकप लिग टूको साइकलमा नेपाल पनि रहेको छ । नेपालले अहिलेसम्म २० खेलबाट १७ अंक जोड्दै आफूलाई छैटौं स्थानमा राखेको छ ।

सम्बन्धित खबर