कमजोर ब्याटिङका कारण नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनले पराजित भएको छ । यो हारका कारण नेपालले २ खेलको सिरिज एक शुन्यले हारेको छ ।
मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो ।
क्यानडाका लागि श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । जसमा श्रेयसले ५० रन बनाए भने खालिदले ३० रन जोडे । यस्तै आरोन जोनसनले ४४ रनको योगदान दिए ।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । यस्तै बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।
जवाफमा नेपाल ३९ ओभर दुई बलमा एक सय पाँच रनमा अल आउट भयो । नेपालका लागि देव खनालले २६ रन बनाउँदा बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।
क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई दुई विकेट लिए ।
यो सिरिजपछि नेपाल स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्ड जानेछ ।