टिप्पणी : प्रधानमन्त्रीको निरस भाषण, न उखान टुक्का न घोचपेच !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२०
  • |
  • 502 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सुन्नेबित्तिकै अचेल हाम्रो दिमागमा छुद्र राजनीतिक टिप्पणी र उखानटुक्काको प्रयोगबाट गरिने व्यंग्यको झल्को आइहाल्छ ।

विशेषगरी पुस ५ गते प्रतिनिधिसभा विघटन यता आफ्नै पूर्व सहकर्मीको उछित्तो काट्दै भाषण गर्छन् ओली ।
तर मंगलबार प्रज्ञा भवनमा बिल्कुलै भिन्न स्वरूपमा ओली प्रकट भए । राष्ट्रिय खेलकुद परिषद्ले गरेको प्रधानमन्त्रीसँग खेलकुद अन्तरकृया कार्यक्रममा ओलीले एउटा पनि उखान टुक्का प्रयोग गरेनन्, कुनै राजनीतिक टिप्पणी गरेनन् । करिब एक घण्टाको सम्बोधनमा उनले खेलकुदका कुरा गरे ।

प्रधानमन्त्री १ बजे आउने भनिएपछि खेलकर्मीलाई साडे १२ बजे बोलाइएको थियो । केहि खेलकर्मीले अनौपचारिक कुराकानीमा ‘अरु त त्यस्तै है, हास्न आएको’ भनिरहेका थिए । भन्न खोजिएको के भने प्रधानमन्त्रीको सम्वोधन हुने भनेपछि हिजो आज मान्छेहरुको अपेक्षा पनि त्यस्तै हुँदै गइरहेको छ ।

समस्त खेलकर्मीलाई निराश बनाउँदै प्रधानमन्त्रीले गम्भीर कुरा पो गर्न थाले । खेलकुद निश्पक्ष हुनुपर्ने, हाम्रो होइन राम्रोलाई अवसर दिनुपर्ने, पूर्वाधार विकासमा ध्यान दिने, खेलाडीलाइ जित्नसक्ने बनाउन न्यूनतम आवश्यकता पूरा गरिदिने लगायतका गम्भीर कुरा उनले गरे ।

दशकौंदेखि सुन्दै आएका तर कार्यान्वयन नभएका यस्ता सैद्दान्तिक कुराले खेलकर्मीहरु झर्को मानेर सुनिरहेका थिए । उनीहरु चाहन्थे, ‘प्रधानमन्त्रीबाट आउने रमाइलो भाषणले गलल्ल…. हाँस्न पाइयोस ।’

प्रधानमन्त्रीले १ घण्टा लामो भाषणमा जम्माजम्मी तीनपल्ट हँसाए । नेपालीले हार्न नजानेको प्रशंगमा उनले भने, ‘हामीले विगतमा युद्दमा समेत हार्न जानेका छैनौं, डल्ला फालेर जित्न सकिन्न र ? एउटा भकुन्डो फालेर जित्न सकिन्न र ?, हलमा हासोको फोहोरा छुट्यो । अर्का पल्ट उनी हारजितको कुरा गर्दै थिए, मानवको मनावियज्ञान नै जित केन्द्रित हुने उनको भनाइ थियो । ‘राजनीतिमा समेत हाम्रा साथीहरुलाई जित्नुपरेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना गरेर जित्नुपर्ने छ उहाँहरुलाई । चुनावमा गएर जित्नुस भन्दा मान्नुहुन्न ।’ हल फेरी हासोँले गुन्जियो । प्रधानमन्त्रीले आफ्नो निरस सम्वोधनको अन्त्यमा चाहीँ अपेक्षित भाषणका लागि २३ गतेको आमसभामा आउन चुलैनिम्तो दिए । भने, ‘यहाँ छुटेका कुराहरु त्यतै गरम्ला ।’
नेकपाको ओेली पक्षले २३ गते दरबारमार्गमा जनसभाको आयोजना गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey