नेपाल एएफसी महिला एसियन कप छनोटमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
-
नेप्लेज
- |
- २०८२-०३-२२
- |
- 4496 पटक हेरिएको
नेपाल एएफसी महिला एसियन कप छनोटको समूह एफको अन्तिम खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४-२ ले पराजित हुँदै छनोट हुनबाट वञ्चित भएको छ। शनिबार भएको रोमाञ्चक खेलमा निर्धारित समय ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो, जहाँ नेपालले अवसर गुमायो।
खेलको दोस्रो मिनेटमै उज्बेकिस्तानले गोल गर्दै अग्रता लिएको थियो। ११औं मिनेटमा उज्बेकिस्तानले कप्तानको बायाँ विंगबाट आएको प्रहारमा डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै गोल भएको थियो।
नेपालकी स्टार खेलाडी साबित्रा भण्डारीले २४औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरिन्। तर, ३९औं मिनेटमा उज्बेकिस्तानकी शोएमोभले पेनाल्टीमार्फत गोल गर्दै अग्रता फेरि दोब्बर बनाइन्।
पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।
नेपालले पहिलो हाफमा डिफेन्डर निशा थोकरको स्थानमा ३०औं मिनेटमा प्रीति राईलाई मैदान प्रवेश गराएको थियो। दोस्रो हाफमा साबित्रा भण्डारीले ७०औं र ७१औं मिनेटमा लगातार गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन्।
तर, थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा साबित्राको प्रहार बारमा लाग्यो भने गोलकिपर अन्जना रानामगरको प्रहार उज्बेकिस्तानकी गोलरक्षकले बचाइन्, जसले नेपालको हार निश्चित गर्यो।
यो हारसँगै नेपालको एएफसी महिला एसियन कपमा छनोट हुने सपना चकनाचुर भएको छ। साबित्राको उत्कृष्ट प्रदर्शनले टिमलाई अन्तिमसम्म लडिराखे पनि टाइब्रेकरमा भाग्यले साथ दिएन।