नेपाल बुद्धिचाल महासङ्घको केन्द्रीय समिति बैठक सम्पन्न

-
नेप्लेज
- |
- २०८२-०२-२७
- |
- 4232 पटक हेरिएको
नेपाल बुद्धिचाल महासङ्घको केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको च्यासलमा विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। महासङ्घको विधानअनुसार प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सोमबार सम्पन्न भएको हो।
बैठकले आगामी भदौ १४ र १५ गते वीरगञ्जमा महासङ्घको दशौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।
साथै, गत जेष्ठ ७ गते ५५ जिल्ला सङ्घहरूलाई जिल्ला अधिवेशन सम्पन्न गर्न दिइएको निर्देशनअनुसार अधिवेशन सम्पन्न गरेका जिल्लाहरूलाई अनुमोदन गरिएको छ।
बाँकी जिल्लाहरूमा आवश्यकताअनुसार तदर्थ समिति गठन गर्ने निर्णय पनि भएको छ।
साधारण सभा तयारीका लागि उपाध्यक्ष श्याम ब्यञ्जनकारको संयोजकत्वमा तयारी उपसमिति र धनबहादुर बोगटीको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरिएको छ।
तयारी उपसमितिमा महासचिव धरमबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, राजु ताम्राकार र सुशीला गुरुङ छन् भने विधान संशोधन उपसमितिमा उपमहासचिव मोनालिसा खम्बु र बालाराम पुन रहेका छन्।
यस्तै, एसियन चेस फेडेरेसनको स्वीकृतिमा ६० राष्ट्र सहभागी हुने एसियन एमेच्योर अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आगामी चैत ८ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय भएको छ।
यस प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्न असार १६ देखि १९ गतेसम्म बुटवलमा सातौँ राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता सञ्चालनको जिम्मेवारी बुटवल उपमहानगरपालिका बुद्धिचाल सङ्घलाई दिइएको छ।
महासङ्घको रिक्त उपाध्यक्ष पदमा पर्सा जिल्लाका मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव शिवप्रसाद गुप्ता र सदस्य पदमा कास्की जिल्लाकी राष्ट्रिय खेलाडी पूजा भण्डारीलाई मनोनयन गरिएको छ।
साथै, कोषाध्यक्ष ताराबहादुर रानाभाटलाई साधारण सभामा लेखा परीक्षण प्रतिवेदन पेश गर्न आर्थिक संयोजकको जिम्मेवारी दिइएको छ।
१७ सदस्यीय केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षसहित उपाध्यक्षद्वय धनबहादुर बोगटी र श्याम ब्यञ्जनकार, महासचिव धरमबहादुर लामा, उपमहासचिव मोनालिसा खम्बु, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, बालाराम पुन, निरञ्जन प्रजापति, सुशील चौधरी, रमिला पोखरेल, सुशीला गुरुङ र रमिला शाही गरी १३ जनाको उपस्थिति थियो।