गोर्खाली रग्बीद्वारा फिफ्टिन्स रग्बीको उपाधि रक्षा

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०२
  • |
  • 3296 पटक हेरिएको

गोर्खाली रग्बी क्लब पाँचौँ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०२५ को विजेता बन्न सफल भएको छ।

मङ्गलवार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५–० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसँगै गोर्खालीले लिगको तीन वटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।

त्यसैगरी मङ्गलवार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई एक सङ्घर्षपूर्ण खेलमा १९–७ ले पराजित गर्दै उपविजेता बन्न सफल भयो। गत वर्षको उपविजेता एपीएफ भने तेस्रो स्थानमा सीमित भयो। नेपाल पुलिस क्लबले भने प्रतियोगितामा अङ्क बटुल्न सकेन।

प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल रग्बी सङ्घका  वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेले पुरस्कार वितरण गर्नुभयो।

विजेता गोर्खाली रग्बीले नगद रु २ लाख २२ हजार २ सय २२ रुपैंया प्राप्त गरे भने उपविजेता एपीएफले १ लाख ११ हजार १ सय ११ रुपैंया हात पार्‍यो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए। उनले रु १५ हजार प्राप्त गरे।

प्रतियोगिताको कठिन मानिएको दुई खेलमा एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बी क्लबका लागि मङ्गलवारको खेल तुलनात्मक रूपमा सहज बन्न पुग्यो। एकपक्षीय खेलमा गोर्खालीले पहिलो हाफमा ४०–० को अग्रता लिइसकेको थियो।

गोर्खालीले पहिलो सेटमै वैकल्पिक खेलाडी राखेर मैदानमा उत्रिएको थियो। पहिलो पटक फिफ्टिन्स खेलिरहेको नेपाल पुलिस क्लबसँगको खेल सहज हुने अनुमान गरिए जस्तै नै खेलमा गोर्खाली सुरुआत देखि नै हाबी हुन पुग्यो। दोस्रो हाफमा भने टोलीले १५ अङ्क थपेको थियो।

नेपाल प्रहरीले कुनै स्कोर जोड्न सकेन। त्रिभुवन आर्मी र एपीएफ बिचको खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो। एपीएफले सुरुआतमा एक ट्राई र कन्भर्जनलाई सफल पारेर ७ अङ्क जोडेको थियो। सेनाले ५ अङ्क जोडेपछि पहिलो हाफ ७–५ को प्रतिस्पर्धात्मक स्थितिमा पुगेको थियो।

तर दोस्रो हाफमा सेना खेलमा फर्कियो। दोस्रो हाफको सुरुआतमा लगातार ७ अङ्क जोडेपछि सेनाले खेलमा अग्रता बनायो र त्यसलाई अन्तिम समयसम्म कायम राख्यो। एपीएफले खेलमा फर्किने प्रयास सफल भएन। बरु खेल सकिनै लाग्दा सेनाले अर्को एउटा ट्राई गरेर खेल १९–७ ले जित्न सफल भयो।

नेपाल रग्बी सङ्घको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागीय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो। यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बङ्गलादेश बिच काठमाडौँमा हुने फिफ्टिन्स रग्बी शृङ्खलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी सङ्घले जनाएको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal