कमलसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा एपीएफ २ विकेटले विजयी

Kelmi

  • |
  • २०८१-११-२९
  • |
  • 3898 पटक हेरिएको

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले २ विकेटको रोमाञ्चक जित निकालेको छ।

कमलसिंह ऐरीको उत्कृष्ट अलराउन्डर प्रदर्शनले एपीएफलाई मधेश प्रदेशविरुद्ध २ विकेटको जित दिलायो।

बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छक्का प्रहार गरे।

उनले ३ छक्काको मद्दतले अविजित २८ रन बनाए। साधारण लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किएपछि केही दबाबमा परेको एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै जित दिलाए।

३१औं ओभरमा हरिशंकर साहको बलमा लगातार दुई छक्का प्रहार गर्दै उनले मधेश प्रदेशलाई दबाबमा पारेका थिए।

७९ बल अगावै जित हासिल गरेको एपीएफका लागि २१ रन बनाउँदा तेस्रो ओभरमा लोकेश बमलाई १८ रनमा गुमाउनु परेको थियो। त्यसपछि आसिफ शेख पनि ३४ रनमा आउट भए।

मधेश प्रदेशका कमल गुप्ताले उत्कृष्ट बलिङ गर्दै कप्तान रोहित पौडेललाई १८ रनमा र दीपक बोहरालाई डकआउट गराए। सुमित महर्जनले ३५ रनको योगदान दिँदै टोलीलाई जितको आधार तयार पारे भने अमरसिंह रौतेलाले १६ रन बनाएर प्रदीप पासवानको बलमा बोल्ड आउट भए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४०.४ ओभरमै सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाउन सक्यो। मधेशले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटरहरू क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएको थियो।

कप्तान अनिल कुमार साह र मयन यादव ३१ रनको साझेदारीमा खेलिरहेका बेला भुवन कार्कीको बलमा मयन बोल्ड आउट भएपछि विकेट पतन सुरु भयो।

यद्यपि, मधेशका पवन सर्राफले पारी उकास्ने प्रयास गरे। उनले ५ छक्का र ८ चौकासहित ७७ रन बनाए। ३४औं ओभरमा कमलसिंह ऐरीले उनलाई बोल्ड गर्दै पेभेलियन फर्काएपछि मधेशको टोली एपीएफका बलरहरूको दबाबमा रह्यो।

३४औं ओभरमै ऐरीले पवन र दिनेश दासलाई आउट गर्दै मधेशलाई ठूलो स्कोर बनाउनबाट रोकिदिए। कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रुपेश सिंह र प्रदीप पासवानले समान १०–१० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ४ विकेट लिए। प्रदीप पासवानले १ मेडन राख्दै २८ रन दिएर २ विकेट लिए। रुपेश सिंह र हरिशंकर साहले समान १-१ विकेट लिए। एपीएफका लागि कमलसिंह ऐरीले ९ ओभरमा १ मेडन राख्दै ५५ रन खर्चेर ४ विकेट लिए।

भुवन कार्की र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए भने अभिशेष गौतमले १ विकेट लिए।

प्रतियोगितामा बलिङ तथा ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका कमलसिंह ऐरी म्यान अफ द म्याच घोषित भए।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टोलीसहित सात प्रदेशका टोलीहरू सहभागी छन्।

दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा भइरहेका छन्। हरेक टोलीले एक-आपसमा खेल्नेछन्।

आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ।

बिहीबारको जितसँगै एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने मधेश प्रदेश चौथो स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal