गोदावरी नगरस्तरीय सेभेन ए साइड फुटबलको उपाधि बुद्ध माविलाई

Kelmi

  • |
  • २०८१-१०-२४
  • |
  • 2517 पटक हेरिएको

ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाँडेगाउँको बुद्ध माविले जितेको छ ।

ढोलाहिटीस्थित विनायक स्पोर्टस कम्प्लेक्समा बिहीबार सम्पन्न भएको फाइनल खेलमा लेलेको अमर कान्ति माध्यमिक विद्यालयलाई ४–२ गोल अन्तरले हराउँदै बुद्ध माविले दोस्रो पटक गोदावरी नगर विद्यालय स्तरीय प्रतियोगिता जितेको हो ।

बुद्धको जितमा सचिन तामाङले २ तथा राज घिमिरे र प्रमेश थिङले १–१ गोल गरे । पराजित अमर कान्तिका लागि जिगरजंग सिलवालले दुवै गोल गरे ।

विजेता भएसँगै बुद्ध माविले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता अमर कान्तिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

ज्ञान कुण्ड युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गङ्गा जमुना स्कुलका विपिन महर्जन भए । यस्तै उत्कृष्ट गोलकिपर बुद्ध माविका सुमन तिरुवा भए भने उदयमान खेलाडीको पुरस्कार सरस्वती मावि लेलेका कर्मा तामाङले पाए ।

सरस्वती माविकै उत्सव नगरकोटी सर्वाधिक गोलकर्ता भए । विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदीयमान खेलाडीले जनही ५ हजार पाएका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुरस्कार प्रदान गरे ।

सेमिफाइनलमा बुद्ध माविले लेलेको गङ्गा जमुना माविलाई  तथा लेलेको अमर कान्तिले रिदभान एकेडेमीलाई हराएर फाइनलमा पुगेका थिए ।

प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

गोदावरी नगरपालिकाका मेयर महर्जनले नगरभित्र फुटबलको दिगो विकासका लागि विद्यालय स्तरीय फुटबल कोशे ढुङ्गा हुने बताए ।

मेयर कप फुटबलको तयारीमा नगरपालिका रहेको बताउँदै उनले प्रतियोगिता सँगसँगै पूर्वाधार निर्माणको काममा पनि नगरपालिका जुटिरहेको बताए ।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले विद्यालय स्तरको फुटबलले नगरको फुटबललाई ग्रास रुटमै बलियो बनाउने प्रयास गरेको बताए ।  

क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले नगरले आर्थिक सहयोग गरेको खण्डमा हरेक वर्ष यस्तै प्रतियोगिता आयोजना गरिरहने बताए । तीन दिने प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal