गोदावरी अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
अमरकान्ति र साँग्रीला क्बार्टरफाइनलमा

-
नेप्लेज
- |
- २०८१-१०-२२
- |
- 1271 पटक हेरिएको
ललितपुर–लेलेको अमरकान्ति माध्यमीक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको साँग्रीला इन्टरनेसनल स्कूल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेका छन् ।
ढोलाहिटीस्थित विनायक स्पोर्टस कम्प्लेक्समा मंगलबारबाट सुरु प्रतियोगितामा समूह सिबाट दुई खेल जित्दै अमरकान्तिले अन्तिम आठमा स्थान बनायो ।
अमरकान्तिले बज्र एकेडेमीलाई २–० ले तथा बालअंकुरलाई २–१ ले पाखा लगाएको छ ।
यो समूहको बज्र एकेडेमी दुबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारको अन्तिम खेलमा रिदभान स्कूल र बालअंकुर माविले २–२ गोलको बराबरी खेल्दै क्बार्टरफाइनलको संभावना दुबैले कायमै राखेका छन् ।
समूह डि बाट बुद्ध मावि बाँडेगाउँले गंगा जमुना स्कूल लेलेलाई १–० ले तथा भिमसेन स्कूल देवीचौरलाई २–१ ल्ो हराएको छ । बुद्ध मावि गत संस्करणको विजेता टोली हो ।
यो समूहबाट लिटिल स्टार लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ भने भिमसेन र गंगा जमुना मध्ये एउटा स्कूल अर्को चरणमा पुग्नेछन् ।
५ वटा विद्यालय रहेको समूह बि बाट साँग्रीला स्कूलले लगातार दुई खेल जित्दै अन्तिम आठमा पुगेको छ ।
साँग्रिलाले टीकाभैरबको बुद्ध माबिलाई ४–१ ले तथा लेलेको सरस्वती माविलाई ३–० ले हराएको छ । सांग्रिलाका सविन चेपाङले प्रतियोगितामा ४ गोल गरिसकेका छन् ।
यो समूहमा बशिष्ठ माविले नेवा स्कूललाई २–१ ले हराउँदा बुद्ध माविले बशिष्ठलाई हराएको छ ।
यसैगरी नेवा स्कुल र सरस्वती स्कूलले ३–३ खेलको बराबरी खेलेका छन् ।
समूह ए बाट एभेरेष्ट इंगलिस स्कूलले पनि क्बार्टरफाइनलमा स्थान बनाएको छ ।
एभरेष्टले इन्द्रेणी स्कूल र सूर्य शिक्षा सदनलाई हराएको हो । इन्द्रेणीले भने टीकाभैरब बोर्डिङ स्कूलसँग बराबरी खेल्दा टीकाभैरबले सूर्य शिक्षालाई १–० ले निराश पारिदिएको छ ।
दुबै खेल हार्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ । इन्द्रेणी र टीकाभैरब मध्ये एक स्कूलको अर्को चरणमा जाने संभावना कायमै छ ।
नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वालले गरे ।
लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए ।
उनका अनुसार बुधबार समूह चरणका बाँकी खेल र क्बार्टरफाइनलका खेलहरु हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन् ।
त्यस्तै प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।
यसअघिको प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधी बुद्ध मावि बाडेगाउँले गंगा जमुना मावि लेलेलाई २–१ ल्ो हराउँदै जितेको थियो ।
अघिल्लो संस्करणमा नगरभित्रका ३३ वटा स्कूलले सहभागिता जनाएका थिए ।